आज २१ औँ जनमुक्ति सेना दिवस

बुधबार, मंसिर ८, २०७८

गाेरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिराज अधिकारी ‘कुमार’ले जनमुक्ति सेना स्थापना दिवसलाई स्मरण गरेका छन् । ‘आजको दिन नयाँ युगका लागि शपथ खाएको नेपालको राजनैतिक परिवर्तनको ऐतिहासिक महत्त्वको दिन हो’, केन्द्रिय समिति सदस्य समेत रहेका अधिकारीले भनेका छन् ‘जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली, घाइते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’

उनले उक्त महान अभियानमा सामेल सम्पुर्ण योद्धाहरुको स्मरण गर्दै “सत्यलाई झुटले छोप्ने प्रयत्नको निरन्तर पर्दाफास गरौं’’ भनेका छन् । विस २०५८ साल मंसिर ८ गते तत्कालीन नेकपा माओवादीले जनयुद्धका क्रममा जनमुक्ति सेनाको औपचारिक घोषणा गरको थियो । सोही दिन तत्कालीन माओवादीले दाङ, सोलुखुम्बु र स्याङजामा एक्कै पटक आक्रमण गरेको थियो ।

त्यसअघि नेपाल प्रहरी तथा शसस्त्र प्रहरीविरुद्ध फौजी आक्रमण गरिरहेको माओवादीले वार्ता असफल भएपछि नेपाली सेनाविरुद्ध समेत आक्रमण गरेर सफलता पाएकै दिनलाई जनसेना स्थापनाको दिन मान्ने गरेको थियो ।

तत्कालीन अवस्थामा जनमुक्ति सेनाका सर्बोच्च कमाण्डर प्रचण्ड थिए भने वर्षमान पुन अनन्त, नन्दकिशोर पुन पासाङ, जनार्दन शर्मा, प्रभाकर र चक्रपाणी खनाल, बलदेव डेपुटी कमाण्डर थिए ।

सात डिभिजन कमाण्डरमा पहिलो डिभिजनमा सन्तु दराई परवाना, २ नम्बरमा धनबहादुर मास्की राजेश, तेश्रो कालीबहादुर खाम विविध, चौथोमा, यमबहादुर अधिकारी प्रतिक्षा, पाँचौमा, सुकबहादुर रोका शरद, छैटौंमा महेन्द्रबहादुर शाही प्रज्वल र सातौं डिभिजनमा जिवन बुढा रहेका थिए ।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि मंसिर ८ गतेलाई पुनर्गठन दिवस तथा जनमुक्ति सेना दिवस मनाउँदै आएको छ ।