बलिदानका २३ वर्ष

बुधबार, मंसिर १५, २०७८

राजन गाेतामे
२३ वर्ष पुगेछ आज, मेरो जिन्दगीको बाटो मोडिएको अनि तिम्रो रगतले इतिहास कोरिएको l सर्बप्रथम त हार्दिक श्रद्धासुमन श्याम सुन्दर श्रेष्ठ जी l न तिमीलाई थाहा भो तिम्रो बलिदानीको बारेमा न मलाई थाहा भो मेरो बर्बादीको बारेमा l किन ? एक प्रश्न सोध्ने अवसर न तिमीले पायौ होला न मैले पाएँ l तसर्थ म जीवित हुन पाएको नाताले त्यो कालो दिनलाई नचाहँदा नचाहँदै पनि सम्झने कोशिष गरेको छु l
अहिले सम्झंदा पनि काँडा उम्रन्छ त्यो दिन गोर्खा क्याम्पसको चौर l म त्यति बेला फरक संगठनको कार्यकर्ता, तिमी फरक संगठनको , तिम्रै कुनै कार्यकर्तासंग नेबिसंघको स्वागत कार्यक्रममा तिम्रै प्रतिक्षामा थिएँ म पनि | एउटा गित गुन्जिरहेको थियो ……….
राती राती मसाल बोकी हिड्ने कम्युनिस्टलाई
भन्दिनु है भन्दिनु…… गणतन्त्र आउंदैन …..हाम्रो देश नेपालैमा….. |

अकस्मात् आवाज आयो, तिमीलाई गोली हानियो |
बस् | मलाई पनि यत्ती नै थाहा छ त्यो दिनको घटना चाहिं | तिमीलाई के भयो ? किन गोली हानियो ? कसरी मृत्युबरण गर्यौ ? तर म भने त्यो घटना घटेको आधा घण्टा पछि नै त्यति बेलाको तिम्रै सत्ताको खुनी नंग्राले चिमोटेर तिम्रै साथीहरुको जाहेरीमा रक्तमुच्छेल ५ वर्ष कालकोठरीमा बिताई आज ज्यूँदो लाश सरह बाँचिरहेको छु |
श्यामसुन्दर जी, कति निर्मम छ है इतिहास ? न जवाफ दिन्छ न प्रश्न सोध्छ समयले l घाउहरुमा आफैं खाटो बस्छ , कहिले खाटो उप्कंछ घाउको, अनि रगताम्य हुन्छ l तिमी त छैनौ नि नश्वर शरीर, तै पनि तिम्रो परिवार किन यो १५ गते आइदिओस् भन्नु हुन्छ होला तिम्रो यादमा ? म पनि त्यस्तै भन्छु मेरो शरीरतिर हेर्छु, तिम्रै हत्या अभियोगमा ५ बर्षको यातनामय काल कोठरीको पीडादायी दिन सम्झन्छु, कुंजिएको शरीर, खेर गएको यौवन, टुटेको पढाईको कडी, समाजले हेर्ने फरक आँखा र तिरस्कार, यातना र चिसो छिंडीले रातभर दुख्ने शरीर, त्यहि माथि दोहोरिईरहने डरलाग्दा पुराना दिनका सपनाहरु l पीडा ! उफ कसलाई भन्नु ? के गरूँ ? कतिले त यसैलाई ब्याज बनाएर खाई गोरखामै आलिसान जीवन बाँचिरहेका पनि छन् l तर मैले त सकिन l कोशिश त गरें l खुर्सानीको पिरोको औषधी खुर्सानीकै जरा हो भनेर पनि l तर ममा नभएको गुलामी गर्न सक्ने क्षमता र आत्मस्वाभिमान बेच्न सक्ने क्षमताले गर्दा मेरो घाउ निको पार्न सकेन र आज यो फरक जीवन जसोतसो काटिरहेको छु l
मलाई थाहा छैन यो पनि समयले उत्तर देला l राम बहादुर घिमिरे तिमीले नि जान्थ्यौ म पनि चिन्थें l पुष्पराज देबकोटा तिमी र म दुवैले जानेको मान्छे हो l महेन्द्र मरहट्टा हरेक सपनीमा आउंछ अनि ए राजन ! भन्छ जान्छ l अनि गोर्खा क्याम्पस, द्रब्य शाह क्याम्पसको त्यो कार्यक्रम, लक्ष्मीबजारको सडक, जिप्रकाको डी एस पी कक्ष l आज मङ्सिर १५ गतेको दिन सम्झदै गर्दा २०५५ सालका यी घटनाक्रम र साथीहरु पनि झल्झली परेलीमा नाचिरहेछन् किन ? म संग उत्तर छैन l
युद्ध शुरु भो l तिमी र म दुइ पट्टिका l फेरी युद्ध अन्त्य पनि भो l यो २३ बर्षमा दरौंदीमा धेरै पानी बग्यो l त्यो दिनको गोर्खा क्याम्पसको तिम्रो गीत पनि झुट भो l मैले देखेको नयाँ जनबादी गणतन्त्रको रुमानी सपनाले मार्सीको भात खायो, अनि करोडको खाटमा डङरङ्ग सुत्यो l कसैको छोरीलाई तिम्रै रगतले बनेको पार्टीको छहारी चाहियो l कसैलाई तिम्रै परिवारको भोट चाहियो l अनि तिमी आज दिनरात गोर्खा बसपार्कमा निर्जीव खडा छौ, म चाहिँ सजीव तिम्रो परिवारलाई भेट्न जाने स्थितिमा पनि छैन l आज तिम्रो परिवार र मेरो परिवार बाहेक सबैले बिर्सिसकेका छन् यो दिन lश्यामसुन्दर जी l मैले धेरै सोंचे कम्तिमा तिम्रो परिवार सम्म पुगुँ , द्वन्द्वपिडितहरुको पुनर्मिलन होस्, कम्तीमा मैले भन्न पाउँ त्यो निर्दयी
युद्द थियो नेतृत्वद्वारा हामी कार्यकर्ता माथि मात्र थोपरिएको, फेरि भलै युद्धरत पार्टीकै भए पनि म चाहिँ हैन है बा, आमा , म माथिको आरोप मात्र थियो त्यो, तर… तर …त्यहि भन्न पनि म यती कमजोर भएछु कि त्यही शब्द आज १५ गतेको दिन पारेर भन्न बाध्य छु l
आजकाल केन्द्र, प्रदेशतिर तिम्रा र हाम्रा मिलिजुली राज गरिरहेछन्, श्याम सुन्दर जी, ५२- ६३ को त्राशदी हरेक बेलुकी बसेर रक्सी र सितन संग बिर्सदैछ नेतृत्वले l सायद तिम्रो पार्टीको सम्मेलनमा तिम्रो नाम आयो कि आएन ? मलाई थाहा छैन, मेरो भने नाम गुमनाम छ चैते र अवसरबादीहरुको बीचमा l हाम्रा बर्बादी र बलिदान परिबर्तनका लागि हो, थियो भने तमाम सहिद परिवारतिर राज्यको नजर किन पर्दैन ? द्वन्द्व पिडितहरुको चहराईरहेको घाउ के इतिहासको ब्याज खाने बाटो हो र ? आमाको प्रशव पिडा बिना कुनै बच्चा जन्मदैन थाहा छ भनेर हामी चित्त त बुझाऔंला l तर आज तिमिजस्ता १७ हजार र म जस्ता लाखौं नेपालीको रगत, पसिना, त्याग ,तपस्या र बलिदान हाम्रै नेतृत्वको लागि किन मागी खाने भाँडो बन्दैछ ? अझै प्रतिगमन र प्रतिक्रान्तिका बाछिटाहरु फैलनु अघि किन आफ्नो वर्ग, दायित्व र कर्तव्यबाट नेतृत्व च्युत हुदैंछ ? समयमा नै सबैमा सद्बुद्धि आओस, समय फेरिएको छ, अब पुरानै गुडमा बच्चा कोरलेर निर्बल बच्चा कोराल्नु भन्दा आफ्नो वर्ग, दायित्व र कर्तव्यबाट बिचलित नभई नयाँ गुड बनाउने तर्फ सबैको ध्यान जाओस्, नयाँ समयको माग अनुसार नयाँ घर बनोस् l पुन: यो घाइतेको सद्भाव सहित हार्दिक श्रद्धासुमन श्यामसुन्दर जी |
राजन गोतामे
धर्मस्थली, काठमाडौं
kalinrajan@gmail.com