प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वदर्धन र व्यवस्थापनकाे जिम्मा मादी गाउँपालिकालाइ दिन माग

शुक्रबार, पुस ३०, २०७८

पोखरा । मादी गाउँपालिकाले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) हटाउन र सो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन आफूलाई दिन संघ सरकारसँग माग गरेको छ । मादी गाउँपालिकाको दशौं गाउँसभाले यसका लागि आग्रह गर्ने निर्णय गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

गाउँसभाले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) हटाउन र सो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन गाउँपालिका मातहत नआएसम्म एक्यापको नाममा संकलन भएको रोयल्टी र पर्यटन शुल्कको ७० प्रतिशत अंश गाउँपालिकामा आउने व्यवस्था गर्नपनि माग गरेको छ ।

गाउँसभाको अवसरमा मादी गाउँपालिकाको लोक संस्कृति नामक पुस्तक विमोचन गरेको छ । पुस्तकको मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङले विमोचन गरेका थिए ।

गाउँसभाको अवसरमा गाउँपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटनसमेत गरिएको छ भने मादी गाउँपालिकाको आफ्नै गानपनि विमोचन गरिएको छ ।

गाउँसभाले मादी गाउँपालिकाको वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७८, मादी गाउँपालिकाको बालबालिकाको अधिकार संरक्षण संवद्र्धन तथा प्रर्वद्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८, मादी गाउँपालिकाको स्थानीय भूमि सम्बन्धी विधेयक, २०७८, मादी गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, मादी गाउँपालिका कर्मचारी सेवा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७८समेत गरी पाँचवटा विधेयक पारित दुईबटा संशोधन विधेयक पारित गरेकोपनि विज्ञप्तिमा जनाइएको छ ।