गाेरखामा चाेरी काम गर्ने कास्की रुपाकाेटका मियाँ प्रहरी खाेरमा

शुक्रबार, पुस ३०, २०७८

गोरखा । कास्कि जिल्ला रुपाकाेट गाउँपालिका वडा नम्बर ६ घर भइ गाेरखा नगरपालिकामा बसेर चाेरी काम गर्दै आएका जलाल दिन मिया प्रहरी खाेरमा पुगेका छन् ।  जिल्ला प्रहरी कार्यालय गोरखाले सुन, चाँदी, नगद लगायतका सामाग्री चोरी गरेको अभियोगमा उनलाई पक्राउ गरेको छ ।

फरक फरक मितिमा दुई ठाउँमा चोरीमा संलग्न कास्कीको रुपाकोट गाउँपालिका वडा नं. ६ घर भई हाल गोरखा नगरपालिका ६ स्थित बिसौनी मोडमा बस्दै आएका २९ बर्षका जलाल दिन मिया पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले गत कात्तिक २२ गते गोरखा नगरपालिका १० बिरीन्चोक स्थित देवी माया खनाल र पुष ४ गते गोरखा नगरपालिका वडा नं ८ रानीवनस्थित रविन कुमार थापाको घरमा चोरी गरेको खुलेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

उनलाई मंगलबार पक्राउ गरी नकबजनी चोरी शिर्षकमा मुद्दामा दर्ता गरी गोरखा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भैरहेको उनकाे भनाइ छ ।

मियाले थापाको घरबाट साढे ३ तोला बराबरका सुन र १० तोला बराबरका चाँदीका गहनाका साथमा नगद १० हजार र खनालको घरबाट २ तोला बराबरको सुन र १० तोला बराबरको चाँदीका साथमा नगद २५ हजार र एउटा मोबाइल चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।