Breaking News

पालुङ्टारमा मत गणना नराेक्नु : निर्वाचन आयाेग

By मनासलु

May 18, 2022

जेठ ४, गोरखा । जिल्लाकाे पालुङटार नगरपालिकाको स्थगित गरिएको मतगणना अघि बढाउन निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्देशन दिएको छ । वडा नम्वर ६ को मतगणना शुरु गर्ने क्रममा एउटा मतपेटीकाको एउटा सुरक्षण सिल चुडिएको भेटिएपछि मतगणना स्थगित भएको थियो ।

यस्तो अवस्थामा मतगणना अघि बढ्न नसक्ने केही राजनीतिक दलको अडानपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोग र जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको राय मागेको थियो ।

मतपेटीका भण्डारण गर्ने क्रममा वा गाडीमा ओसारपसार गर्दा सिल टुटफुट हुन सक्ने र पेटीकाको अन्य सिल दुरुस्त रहेको अवस्थामा जनमतमा फरक नपर्ने भएकाले गणना अघि बढाउन निर्देशन गरिएको मुख्य निर्वाचन अधिकृत दीनवन्धु बरालले बताए ।

निर्वाचन आयोगले पनि मतगणना अघि बढाउन निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, ‘मतपेटीका ओसारपसारका क्रममा सिल सामान्य टुटफुट हुन सक्छ, यी सामान्य त्रुटी हुन्, हामीले मतगणना सुचारु गर्नु भनेर पत्र पठाएका छौं ।’

आयोगले निर्वाचन अधिकृतको कार्यालय पालुङटारलाई पठाएको पत्रमा भनिएको छ, ‘मतगणना गर्न राजनीतिक दल तथा उम्मेद्वार वा तिनका प्रतिनिधि सहमत नभएमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा १ शय ६७ बमोजिम गर्न गराउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने ।’

आयोगको निर्देशन अनुसार अघि बढ्ने विषयमा दलहरु सहमत रहेकाले अब मतगणना अघि बढाउने तयारी भैरहेको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताउनुभयो । पालुङटार ६ को पौवाटार मतदान केन्द्रको एउटा मतपेटीकाको एकातिरको भागको सिल चुँडिएको भेटिएपछि नेकपा एमाले र जनता समाजवादी पार्टीले मतगणना नगर्न भनेका थिए ।

पालुङटारका १० वटा वडामध्ये अब वडा नम्वर ६ को मात्रै मतगणना गर्न बाँकी छ । नगरप्रमुखमा नेकपा माओवादी केन्द्रका विवश चिन्तन ५५ शय ७१ मतका साथ अग्रता लिनुभएको छ । जसपाका प्रेम गुरुङले ५१ शय ३२ मतका चिन्तनलाइ उछिन्ने काेशिस गरिरहेका छन् ।