Breaking News

गाेरखा पालुङटारमा नयाँ सभ्यताकाे असल सँस्कार, माओवादी र काँग्रेसकाे सँयुक्त विजययात्रा

By मनासलु

May 19, 2022

गाेरखा । जिल्लाकाे पालुङटार नगरपालिकाको नतिजा सो भेगका लागि निकै चर्चामा रह्याे । सुरुमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी जसपा मिलेर लड्ने सहमति भएपनि पछि सहमति तोडियो । जसमा माओवादीले मेयर र जसपाले उपमेयर पाउने गरी सहमति भयो ।

तर, एकाएक केन्द्रीय नीति भन्दै काँग्रेससँग तालमेल गर्ने नीति जसपाले लियो । सो नीति लिइएपछि काँग्रेसका पालिका तहका सबै उम्मेदवारले विद्रोहको चेतावनी दिएपछि त्यो सहमति टिक्न सकेन । त्यसपछि दलहरुबीच मैत्रिपूर्ण प्रतिस्पर्धा गर्ने भन्ने निर्णय भएपनि अन्तिम समयमा जसपाका स्थानीय नेताहरुले एमालेसँग तालमेलको हात अघि बढाए । सोहीअनुसार चुनावमा प्रतिस्पर्धा गरेका पालुङटारको नतिजा भने फरक रह्यो । एक्लै लडेको माओवादी केन्द्र विजयी हुँदा एमालेसँग मिलेको जसपा पराजित बन्यो । यो पालिकाको नतिजा यसअर्थमा पनि महत्वपूर्ण थियो कि जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको गृहनगर पनि हो, पालुङटार ।

अघिल्लो स्थानीय तहमा काँग्रेस विजयी भएको यो पालिकामा यसपटक माओवादी विजयी हुन पुगेको छ भने जसपाबाट मेयरका उम्मेदवार प्रेम बहादुर गुरुङ पराजित बने । विजयी भएका माओवादी केन्द्रका विवश चिन्तनले ६ हजार ७२ मत पाउँदा गुरुङले ५ हजार ७१७ मत पाए । यसैगरी काँग्रेसका दीपकबाबु कँणेलले ४ हजार ९९७ मत पाए भने जसपासँग तालमेल गरेर पनि एमालेको सूर्य चिह्नमा ९४१ मत खस्यो । उम्मेदवार दर्ता भइसकेपछि जसपासँग सहमति भएकाले एमालेको उम्मेदवारको रुपमा हरि भट्ट कायम रहेका थिए ।

यता उपमेयरमा पनि माओवादीकै उम्मेदवार वन्दना पाण्डे विजयी बनिन् । उनले ५ हजार ५७९ मत पाउँदा काँग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाइन् । यस्तै एमालेकी पार्वती देवी पाठक जसपाको सहयोग पाउँदा पनि ४ हजार २८१ मत पाएर तेस्रो बनिन् । यसैबीच पालुङटारमा माओवादी विजयी भएपछि बिहीबार विजय जुलुस निकालिइएको छ । विजय जुलुसमा चुनावमा पराजित काँग्रेसका दीपकबाबु कँणेलसहित उपमेयरमा एमालेबाट पराजित पार्वतीदेवी पाठक समेत सहभागी भएकी छन् । उनीहरुले पराजित भएपनि राजनीतिक संस्कार देखाएर विजय जुलुमा सहभागी हुनु सकारात्मक भएको माओवादीका एक स्थानीय नेताले बताए ।

विजय जुलुसमा सहभागी कँणेलले समग्र पालुङटारको विकासका लागि आफूहरु सँगै रहेको बताए । उनले निर्वाचित मेयरलाई आफूहरुको साथ र सहयोग रहने बताए । यसैगरी मेयरमा विजयी विवशले सबै पक्षलाई मिलाएर लैजाने बताएका छन् । विजय जुलुस स्थानीय राधाकृष्ण मन्दिरबाट सुरु भई ठाँटीपोखरीमा पुगेर कोणसभामा परिणत भएको थियो । यसले पालुङटारमा असल सँस्कारकाे विकास गरेकाे छ । बाैद्धिक व्यक्तित्वहरुकाे बसाेवास रहेकाे यस क्षेत्रकाे विकासमा सबै दलहरु चनाखाे देखिन्छ ।