Breaking News

हेलिकप्टरबाट कँक्रिट दुवानी गरेर अस्पतालकाे भवन ढलान

By मनासलु

June 06, 2022

गोरखा। उत्तरी गोरखामा अस्पताल निर्माणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । अस्पताल निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाग्री ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिएको हो ।

धार्चे गाउँपालिका ३ को खोर्ला बेशीमा निर्माण भईरहेको १५ शैयाको धार्चे सामुदायिक अस्पतालको निर्माणको लागि आवश्यक पर्ने निर्माण सामाग्री सिमेन्ट, बालुवा र गिटीको मिश्रण (मसला) लान सिम्रिक एयरको २ वटा हेलिकप्टर प्रयोग गरिएको हो ।

करिब ३ करोड लगानीमा निर्माण हुन लागेको अस्पताल गाउँपालिकाले ४० र छायाँ नेपाल नामक गैर सरकारी संस्थाको ६० प्रतिशत लगानीमा निर्माण हुन लागेको हो ।

सडक सञ्जालले नछा्एको उत्तरी गोरखामा हेलिकप्टर प्रयोग गरेर अस्पताल निर्माण गरिएको यो पहिलो पटक हो । ‘स्वीङ फ्लाइट्स’ प्रविधि बाट सिमेन्ट, गिट्टी र बालुवा घोलेर तयार गरिएको मिश्रण हेलिबाट बोकेर अस्पतालको भूइ तल्ला ढलान गरिएको हो । अस्पतालको भुईतला ढलान गर्न सिम्रिक एयरले ५० ट्रिप सामान ढुवानी गरेको थियो ।

एयरले सामाजिक उत्तरदायित्व अन्तरर्गत उक्त कामको लागि सहयोग गरेको जनाएको छ । अस्पताल आउँदो पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।