समाचार

कावासोती नगरपालिकाको भित्री क्षेत्रमा रहेका खाद्य सामाग्रीका व्यवसायहरूको अनुगमन

By मनासलु

July 03, 2022

कावासोती । नवलपुरको कावासोती नगरपालिकाको भित्री क्षेत्रमा रहेका खाद्य सामाग्रीका व्यवसायहरूको अनुगमन गरिएको छ । कावासोती आठ नयाँ बजार क्षेत्र आसपासमा रहेका होटेल , आइसक्रिम उद्योग , डेरी , किराना पसलहरूको शुक्रबार अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि सहितको टोलीले गरेको अनुगमनका क्रममा होटेलमा सरसफाइ नभएको , म्याद नाघेका सामाग्रीको प्रयोग भएको , घरेलु रक्सी बिक्री वितरण गरेको , दर्ता बिनानै रक्सी बिक्री वितरण गरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सागर खनालले बताए । घरेलु रक्सीमा कीरा परेको समेत पाइएपछि नष्ट समेत गरिएको खनालकाे भनाइ छ ।

यस्तै किराना पसलमा म्यान नाघेका सामाग्री बढी पाइएको छ । दैनिक रुपमा प्रयोग हुने मरमसला , नास्ताका आइटम नै बढि म्याद नाघेको पाइएको खनालले जानकारी दिए । सामाग्री खुला रुपमा राखेको , खरीद बिक्री बिल समेत नराखेको लगायतका समस्या पाइयाे । टोलीले श्रीस आइसक्रिम उद्योग , नयाँ थाली , लाफिङ , रिजाल तन्दुरी लगायत होटेलको अनुगमन गरेको थियो । यस्तै विभिन्न किराना पसल र नास्ता पसल तथा एउटा आयुर्वेद औषधालयको समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा सम्बन्धित व्यक्ति पसलमा नरहेको पाइएको थियो । परिवारका अन्य सदस्यहरूले अनुभवका भरमा औषधी बिक्री वितरण गर्ने गरेको पाइएको छ । यस्तै म्याद नाघेका सामाग्री समेत फेला परेको छ । अनुगमन गरिएका खाद्य व्यवसायका सम्बन्धित व्यक्तिलाई अनुगमनमा देखिएका त्रुटिलाई सच्चाउन , दर्ता नवीकरण समयमै गर्न अनुरोध गरेर छाडिएको छ । डेट नभएका सामाग्री राख्ने छुटटै स्थान बनाउन , किलोकाँटा समय समयमा नापजाँच गर्न समेत भनिएको उनले बताए ।

विशेष गरेर चाडपर्वलाई लक्षित गर्दै घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन गर्छ भन्ने कुरालाई चिर्नका लागि यसरी यो समयमा पनि बजार अनुगमन गरिएको खनालले बताउनुभयो । शुक्रबार मुख्य राजमार्गका व्यवसाय बन्द हुने भएका कारण भित्री क्षेत्रमा खुलेका खाद्य व्यवसायको अनुगमन गरिएको उनले जानकारी दिए ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय , उद्योग वाणिज्य संघ , उपभोक्ता अधिकार मञ्च , पत्रकार , राजश्व कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।