गाेरखा । गस्तीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने दुई शिक्षकलाइ प्रहरीले पक्राउ गरेकाे छ । मादक पदार्थ सेवन गरी प्रहरीमाथि ढुंगामुढा गर्ने सिरानचोक ४ छोप्राकका शिक्षकहरु रामशरण पोखरेल र रामेश्वर पोखरेल पक्राउ परेका हुन् ।
मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएर घर जादै गर्दा लडेका पोखरेल दाजुभाइलाई सहयोग गर्न पुगेका प्रहरीमाथि कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेका रामशरण र रामेश्वर सहाेदर दाजुभाइ हुन् । उनीहरुमध्य रामशरण मण्डली मावि छोप्राक र रामेश्वर रत्नराज्य माविका शिक्षक रहेका प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिप्रका गोरखाले जनाएको छ ।
ढुङ्गा प्रहारबाट प्रहरी जवान अनन्तबहादुर रोका र प्रहरी हवल्दार अर्जुनबहादुर सेन घाइते भएका छन् । रोकाको टाउको र अनुहारमा चोट लागेको छ । सख्त घाइते भएका उनको गोरखा अस्पतालमा सामान्य उपचारपछि चितवन मेडिकल कलेजमा थप उपचार भइरहेको छ । प्रहरी हवल्दार अर्जुनबहादुर सेनको अवस्था भने सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।