गोरखा। जिल्लाकाे भीमसेन थापा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को बजेट पारित गरेको छ । गाउँपालिकाको दशौ सभाको दोस्रो बैठकले बहुमतबाट आगामी आर्थिक बर्षका लागि बजेट पारित गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कुल ६२ करोड २६ लाख ८८ हजार रुपैया बजेट ल्याएको छ ।
सभामा नेपाली काग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागी नभएपछि बहुमतबाट बजेट पारित भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले बताए ।
उपाध्यक्ष अमृतादेवी वस्ती (भट्ट) सहित काग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु बैठक सहभागी नभएका हुन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठक काग्रेस जनप्रतिनिधीलाई कुर्दा झण्डै ५ घण्टा ढिलो गरि सुरु भएको थियो । ‘हामीले पटक पटक बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न आग्रह गर्यौ, अध्यक्ष बन्जराले भने, तर उहाँहरु बैठकमा आउन तयार हुनु भएन ।’ बैठकमा आफ्ना कुरा राख्न छलफल गर्न नै तयार नहुने र बाहिर बसेर बिरोध गर्नु कुनै तर्क संगत नहुने बताए ।
‘जुनपार्टीबाट निर्वाचित भएपनि जनताको हितको पक्षमा गाउँसभामा मत राख्न तयार हुनुुपर्थ्यो त्यो भएन, अध्यक्ष बन्जराले भने, ‘कृुन बिषयमा असहमती हो भन्ने कुरा पनि नराख्ने फोन नै स्विच अफ गरेर बसेर मात्र त समस्याको समाधान हुदैन त ।’ अध्यक्ष बन्जराले आगामी आर्थिक बर्षका लागि गाउँपालिकाले ल्याएको बजेट गाउँपालिकाको दीर्धकालिन ढंगको बिकासको योजना सहित ल्याएको बताए । बजेटमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार बिकासको क्षेत्रमा बिशेषमा जोड दिएको उनकाे भनाई छ ।
गाउँपालिकाले संघिय सरकार बित्तिय समानिकरण अनुदान रु १४ करोड ४५ लाख, संघिय सरकार सशर्त अनुदान तर्फ, २३ करोड ५५ लाख, संघिय सरकार सशर्त अनुदान पुँजीगत तर्फ १ करोड ४५ लाख रुपैया प्राप्त गर्ने अनुमान गरिएको छ । त्यस्तै गाउँपालिकाले संघिय सरकार राजस्व बाँडफाँड तर्फबाट रु ८ करोड ४४ लाख ६८ हजार रुपैया प्राप्त गर्ने अनुमान गरेको छ । गाउँपालिकाले प्रदेश सरकार बित्तिय समानीकरण अनुदान १ करोड ७७ लाख ५७ हजार, प्रदेश सरकार बिशेष अनुदान तर्फ रु ५० लाख २० हजार रुपैया प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ । त्यस्तै आन्तरिक राजस्व तर्फ ४५ लाख रुपैया र चालु आर्थिक बर्षको रकम मौज्जाद तर्फ ९ करोड १४ लाख ९० हजार ९६२ रुपैया प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै जिल्ला समन्वय समितिबाट ८५ लाख ९ हजार ३८ रुपैया प्राप्त हुनेछ ।