चितवन र काठमाण्डाै जाने सडक पहिराेका कारण अवरुद्ध

मङ्लबार, साउन १७, २०७९
मुग्लिन काठमाण्डाै सडक खण्डकाे फिस्लिङ खण्ड । तस्वीर दान प्रसाद गुरुङ

मुग्लिन ।  रातभर परेको लगातारको बर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ५ स्थित २ नंं. पुल, ३ नं. पुल, भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो ।

ठूलो पहिरो खसेका कारण पहिरो पञ्चाउन समय लाग्ने प्रहरीले जनाएको छ । राती ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण विहानबाट मात्रै पन्छाउन सुरु गरिएको छ । पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएका छन् । ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन दिनभर समय लाग्न सक्ने प्रहरीले जनाएको छ ।

पहिरोमा सवारी साधन समेत परेको छ । केराबारीमा ना ६ ख ४५७२ नं. को १२ चक्के ट्रक पहिरोमा परेको सडक सुपरभाईजर रन्जिला क्षेत्रीले जानकारी दिए। उनका अनुसार पहिरोमा मोटरसाईकल १ वटा र म्याजिक गाडी १ वटा परेको छ भने घरहरुमा समेत क्षति पुगेको छ। यद्यपी मानवीय क्षति भने नभएको उनले बताए ।