श्रीलङ्का टापुमा फसेका दुइ हजार पाँचसय नागरिककाे उद्धार हुँदै

बुधबार, साउन १८, २०७९

साउन १८ , सुनसरी । कोशीको बाढी बस्तीमा पसेपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाका पाँच सय घर परिवारका २ हजार ५ सय जना श्रीलंका टापुमा फसेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त जानकारी दिएका हुन् । श्रीलंका टापुमा फसेकाहरुकाे उद्दाका लागि सशस्त्र र नेपाल प्रहरीकाे टाेली सक्रिय छ ।

प्रमुख जिल्ला अधिकारी यादवले त्यस क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने प्रयास भइरहेको बताए । कतिपयले भने आफूहरु सुरक्षित नै रहेको भनेर त्यहाँबाट आउन नमानेको प्रजिअ यादवकाे भनाइ छ ।

यसैबीच कटान गरिएको क्षेत्रमा प्रदेश नम्बर १ का आन्तरिक मामिलामन्त्री केदार कार्की सहितको टोलीले निरीक्षण गरेको छ । मन्त्री कार्की सहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारी लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरिएको प्रजिअ यादवले बताए ।

पीडितलाई आवश्यक राहतको प्याकेज लगायतका विषयमा छलफल गर्न विपद व्यवस्थापनको बैठक पनि बस्ने उनले बताए ।