काठमाडौं, १६ साउन । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । काठमाडौं प्रहरीका अनुसार हत्या हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । प्रहरीका अनुसार १३ वर्षकी छोरी र ८ वर्षका छोरा रहेका छन् । मृत फेला पर्नेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेका छन्।
गोरखा भीमसेन गाउँपालिका–६ अश्राङ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।
उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।