गोरखा, २२ साउन । चुमनुब्री गाउँपालिका ३ फिलिममा खाद्यान्न पुर्याएर खच्चड लिएर फर्किने क्रममा ढुंगाले टाउकोमा लागेर गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
साउन २० गते धार्चे गाउँपालिका वडा नम्बर १ यारू बगरस्थित क्यान्टिलिभर पुलनजिकै पहिरोसँगै खसेको ढुंगाले लागेर धार्चे ७ भीरकुनाका करिब ३७ बर्षीय बुलसिं गुरुङ घाइते भएका थिए ।
उनलाई चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको समन्वयमा तत्काल उद्धार गरी हेलिकप्टरबाट उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको थियो ।
उपचारका क्रममा उहाँको शनिबार राति निधन भएको स्थानीय वीरबल घलेले जानकारी दिए ।
उनको ढुंगाले लागेर टाउको, हातखुट्टामा गहिरो चोट लागेको थियो। गुरुङलाइ एक लाख ८० हजार भाडा तिरेर हेलिकप्टरबाट काठमाडौं लगिएको थियाे ।
घलेका अनुसार उपचारमा एक लाख २८ हजार खर्च भएकोमा टिचिङ अस्पतालले एक लाख मिनाहा गरिदिएको र बाँकी २८ हजार गाउँलेहरूले पैसा उठाएर तिरेको हो । तर,हेलिकप्टरको भाडा अझै तिरिसकेको छैन । गुरूङको आजै स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी रहेको छ।