भदौ २, गोरखा । प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्म म्याराथुन हुने भएको छ ।
‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने नाराका साथ भदौ २५ गते लिगलिगकोट–सिरानचोककोट– गोरखा दरबार खुल्ला म्याराथुन हुने भएको हो । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो ।
लिगलिगकोट पालुङ्टार नगरपालिकामा, सिरानचोककोट सिरानचोक गाउँपालिकामा र गोरखा दरबार गोरखा नगरपालिकामा पर्ने भएकाले तीनवटा स्थानीय सरकारले दौडको आयोजना गरेका हुन् । साथै नेपाल एकीकरण अभियानमा पहिलो पटक लिगलिगकोटमा सेनाको गण तयार गरेको इतिहासको सम्झनामा सो म्याराथुन प्रतियोगितामा नेपाली सेनाको पनि सहकार्य रहेको हो ।
लिगलिगकोटबाट सुरु हुने दौड चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेपेटार,पस्लाङ चौतारो हुँदै ४० किलोमिटर पूरा गरी गोरखा दरबारको हनुमान भन्ज्याङमा पुगेर टुंगिने गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले बताउनुभयो ।
नेपाल निर्माणको उत्पत्तिस्थल लिगलिगकोटदेखि सिरानचोक हुँदै नेपाल एकीकरणको जग गोरखा दरबारसम्म आयोजना गरिएको प्रतियोगिताले यी क्षेत्रका गढी किल्लाको संरक्षणमा पनि सहयोग गर्ने सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।
गोरखाको इतिहासका बारेमा नयाँ पुस्तालाई जानकारी गराई खेल मार्फत पर्यटन प्रबद्र्धनका लागि प्रतियोगिता सफल हुने विश्वास लिईएको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बताए ।
नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गरी राष्ट्रिय एकताको स्मरण गराउनुका साथै पर्यटन प्रवर्धनमा सघाउन प्रतियोगिता फलदायी हुने जिल्ला समन्वय समितिका प्रमुख मोहनबहनदुर थापा मगरले बताए
प्रतियोगितामा सहभागी हुन चाहनेले तीनवटै पालिका अथवा रिपुमर्दन गणमा भदौ २० गतेसम्म नाम दर्ता गर्न सक्नेछन् । अनलाइन मार्फत पनि आबेदन दिन सकिनेछ । नाम दर्ताका लागि ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । करीब ३ सय जना प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको छ ।
४० किलोमिटर दुरीको उक्त दौड प्रतियोगिताका दश विजेतालाई नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ । आयोजकका अनुसार प्रथम पुरस्कार नगद १ लाख ५० हजार, द्वितीय पुरस्कार नगर १ लाख र तृतीय पुरस्कारको राशी नगद ७५ हजार रुपैयाँ छ ।
प्रतियोगिता गर्न करिब १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि रिपुर्मदन गणले १ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी रकम तीन पालिकाले व्यवस्थापन गर्ने भएका छन् । प्रतियोगिता सञ्चालनका लागि मूल समिति र सञ्चालक समिति बनाएर काम सुरु गरेको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बताए ।
चार सय ६३ बर्ष पहिले लिगलिगकोटका राजा द्रब्यशाहले गोरखा राज्यमा राज्याभिषेक गरेको दिनको स्मरणमा उनले प्रयोग गरेको पदमार्गलाई आधार बनाएर २०७६ सालबाट म्याराथुन सुरु गरिएको थियो । कोभिडका कारण दुई बर्ष यो प्रतियोगितालाई निरन्तरता दिन नसकेपनि यो बर्ष हुने भएको हो । द्रब्यशाहले वि सं १६१६ भदौ २५ गते गोरखा नगरपालिकाको पश्लाङ चौतारोमा राज्याभिषेक गरेका थिए । राज्याभिषेक गरेको ठाउँमा हाल उनको शालिक छ ।