उद्ममशिल युवाहरु मेला आयाेजनामा, जिल्लावासीमा खुशियाली

बिहिबार, भदौ २, २०७९

भदाै, २ गाेरखा । जिल्लामा रहेर विभिन्न व्यापार, व्यावसायमा आवद्ध युवाहरुले गाेरखामा मेला आयाेजना गरेका छन् । चाडपर्वमा समय मेला आयाेजना गर्दा एकै ठाउँमा आवश्यक सामग्री पाइने भन्दै जिल्लावासी नागरिकहरु खुशी भएका छन् ।   गोरखामा असोज ४ गतेदेखी तेस्रो गोरखकाली मेला हुने भएको हाे । हरमटारी क्लवको आयोजनामा गोरखा नगरपालिका वडा नं. ६ स्थित खेलकुद मैदानमा असोज ४ गतेदेखी १४ गतेसम्म मेला हुने भएको हो ।

क्लबले आज पत्रकार सम्मेलन गर्दै ‘गोरखाको संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन आर्थिक, पर्यटन र ऐतिहासिक अभियान’ भन्ने नारा सहित पृथक ढङगले मेलाको आयोजना गर्न लागेको क्लबका महासचिव किरण ढकालले बताए ।

गोरखाको मुख्य पहिचानको खोजि गरी जिल्लाको चिनारीको प्रचार प्रसार गर्नुका साथै जिल्लामा बसोबास गर्ने जातजाति, संस्कृति, भेषभुषा र भाषाको संरक्षण एवम जगेर्ना गर्ने तथा जिल्लालाई पर्यटकी हब बनाउने लक्ष्यसहित मेला आयोजना गरिएको मेलाका संयोजक आशीष श्रेष्ठले बताए ।

उनका अनुसार मेलामा वीरता र एकता झल्कने कार्यक्रम लोपोन्मुख सांस्कृतिक कार्यक्रम प्रस्तुत, औद्योगिक प्रदर्शनी, खाना महोत्सव, कन्सर्ट कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, जातीय भेषभुषा प्रदर्शन प्रतियोगिता लगायतका कार्यक्रम हुनेछ । मेलामा जिल्लाका ११ वटै स्थानीय तहको पहिचान सहितको सांस्कृतिक झाँकी प्रदर्शन गर्ने महासचिव ढकालले जानकारी दिए ।

मेलामा कृषि, शिक्षा, स्वास्थ्य, खाना, पर्यटन, स्थानीय उत्पादन, ब्यापारीक सहित ९० देखी एक सय हाराहारीको स्टल रहने आयोजकले जनाएको छ । स्थानीय ब्यबसायीलाई स्टलका लागि विशेष छुटसहित प्रथामिकता दिइने बताएको छ ।

मेलामा रमाइलो मात्र नगरेर नगर क्षेत्रका पर्यटकिय स्थलसम्म पर्यटक पुयाउनको लागि विशेष कार्यक्रम रुपमा दरबारदेखी दरबार सम्म एतिहासिक पदयात्रा गर्ने आयोजना रहेको उनको भनाई छ । माथिल्लो दरबारबाट सुरु भएर सतिपिपल, बिसेनगर्ची सालिक, राम शाह चौतारा, पस्लाङ हुदै तल्लो दरबार सम्म पदयात्रा गर्ने साथै पदयात्रीलाई सहयताका लागि गाइडको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।

मेलामा करीब ३५ हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, गोरखा नगरपालिका वडा नं ६ को कार्यालयको अनुमतिमा नै खेलमैदानमा मेला आयोजना गर्ने तय भएको महासचिव ढकालले बताए ।

मेलामा करीब ५२ लाख ५० हजार आम्दानी र ४७ लाख ४५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ५ लाख ५ हजार रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ । बचत भएको रकमले खेलमैदान मर्मत सम्भार, खेलाडीको क्षमता अभिबृद्धि गर्नुका साथै सातौं गोरखकाली रनीङ कप फुटवल प्रतियोगिता आयोजना गरिने जानकारी गराएको छ ।

यस्तै, बालमन्दिर माविमा आबासीय रुपमा अध्ययन गर्दै आएका अनाथ बालबालीकाको लागि आर्थिक सहयोग गर्ने महासचिव ढकालले बताए ।  उनका अनुसार मेला प्रवेशमा लाग्ने शुल्क तोक्ने काम भने बाँकी रहेको छ । कार्यक्रम क्लबका संस्थापक अध्यक्ष सीलन श्रेष्ठको अध्यक्षतामा भएको थियाे ।