एक लाख ३० हजार राशीकाे पुरस्कार सहितकाे भलिवल प्रतियाेगिता बाेर्लाङमा हुने

बुधबार, भदौ २९, २०७९

गोरखा, २९ भदौ । गोरखामा अहिलेसम्मकै सर्वाधिक राशी भएको भलिबल प्रतियोगिता हुने भएको छ । भिमसेन थापा गाँउपालिका वडा नं.७ रहेको बोर्लाङ्ग खेलकुद बिकास समितिको आयोजनामा १ लाख ३० हजार राशी पुरस्कारसहित भलिबल प्रतियोगिता हुन लागेको हो ।

असोज १२ गतेदेखी १६ गतेसम्म गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता गर्न लागिएको समितिले आज गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

प्रतियोगितामा आयोजक टिम सहित ११ जिल्लाका गरी १२ टिमको सहभागीता रहने समितिका अध्यक्ष निराजन श्रेष्ठले जानकारी दिए । पुरुष तर्फको प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र चौथो हुने सम्मलाई नगद पुरस्कारसहित मेडल र कप प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका बिजेताहरुले क्रमश रु १ लाख ३० हजार, ७० हजार, ३५ हजार र १५ हजार सहित मेडल र कप प्राप्त गर्ने छन् ।

महिला तर्फको खुल्ला भलिबल प्रतियोगितामा १२ टिमलाई मात्र सहभागी गराउने बताएको छ । महिला तर्फ बिजेता टिमहरुले भने क्रमश रु. ७० हजार, रु. ४० हजार, रु.२० हजार र १० हजार सहित कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस अवधिमा ३५ बर्ष माथिका भेटेरान्स पुरुष भलिबल प्रतियोगिता पनि हुने समितिका अध्यक्ष श्रेष्ठले बताए । भेटेरान्स तर्फ भने प्रथम र द्वितियको लागि मात्र पुरस्कारको ब्यवस्था गरिएको छ । खेलमा प्रथम र द्वितिय हुनेलाई क्रमश ४० र २५ केजीको खसि सहित कप र मेडल प्रदान गरिने छ ।

त्यस्तै गरी, खेल अवधिभर पुरुष तथा महिला तर्फ राम्रो खेल प्रर्दशन गर्ने वेष्ट प्लेयर, स्पाईकर, ब्लकर, डिफेन्डर, सर्भर, सेटर र कोचलाई पनि मायाँको चिनो सहित नगद पुरस्कारले सम्मान गर्ने समितिका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगिता सम्पन्न गर्न २१ लाख ३२ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएकोछ । जसका लागि हालसम्म सोही क्षेत्रबाट बैदेशिक रोजगारीमा गएकाहरुबाट ५ लाख ५० हजार, भीमसेन थापा गाउँपालिकाबाट २ लाख, वडा नम्बर ७ र ८ बाट २ लाख तथा स्थानिय क्लबका लागि खेलकुद शिर्षकमा छुट्टाएको ५० हजार गरी कुल १० लाख ५० हजार संकलन भई सकेको पनि पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुन पुरुष तर्फका लागी दर्ता शुल्क रु ७ हजार, महिला तर्फका लागि ५ हजार र भेटेरान्स टिमका लागि पनि ५ हजार तोकिएको आयोजकले बताएको छ । टिम दर्ता गर्ने अन्तिम मिति असोज ११ गते बेलुकी ५ बजे सम्म रहेको छ । समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता र वडा नं. ७ का वडाध्यक्ष नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।