Breaking News

दशैँ टिकाकाे उत्तम साइत ११:५१ बजे

By मनासलु

September 17, 2022

काठमाडौं, ३१ भदौ ।  विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।  असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ ।

नवरात्रको पहिलो दिन घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।