गाेरखामा डेँगु सक्रमणका विरामीकाे सङ्ख्या ५८ पुग्याे, नगरभित्र मात्रै ४५ जना सक्रमित

शुक्रबार, भदौ ३१, २०७९
भदाै ३१ गाेरखा ।   स्वास्थ्य कार्यालय गोरखाका अनुसार विहिबारसम्म गोरखामा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को हालसम्म गोरखामा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार काठमाडौँ उपत्यका सहित देशभर डेंगु संक्रमण बढेसँगै गोरखामा पनि यसको प्रभाव र असर बढेको देखिन थालेको हो । डेङ्गुबाट जिल्लामा  एकजनाको मृत्यू भएको पुष्टि भइसकेको छ ।

गोरखा नगरपालिकामा ४१ जना र पालुङटारमा ४ जनामा  डेंगु संक्रमण पुष्टि भएको छ । भिमसेन थापा गाउँपालिकामा एक जना, गण्डकी गाउँपालिकामा एक जना, आरुघाट गाउँपालिकामा ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।  जिल्लाका शहिदलखन, अजिरकोट, बारपाकसुलिकोट र सिरानचोक, धार्चे र चुमनुब्री गाउँपालिकामा भने डेंगु संक्रमण देखिएको छैन ।

पालिकामा पर्याप्त परिक्षण गर्ने मेसिन र किट नभएको पनि डेंगु संक्रमण विरामीहरु विवरण आइनसकेको स्वास्थ्य कार्यलयका नारायण बाबु अर्यालले बताए  ।  डेङ्गु राेगकाे परिक्षण गाेरखामा सरकारी अस्पतालले मात्र गर्दै आएकाे छ । डेङ्गुलाइ थप फैलन नदिने सचेतना गतिविधि बढाइएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

के हाे डेङ्गु राेग, कसरी सर्छ र उपचार के हुन्छ ?

डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइकबाट सर्ने संक्रामक रोग हो । डेङ्गुको भाइरसबाट संक्रमित भएको एडिस रजिस्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानीजस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्र वा मट्टीतेलका खाली ड्रम, फूलदानी, गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ । डेङ्गु एडिस एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव भाइसल संक्रमण हो । यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रंगको हुन्छ जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औँलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भएपनि डेङ्गु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेङ्गु रोग क्लासिक डेङ्गु, हेमोरहेजिक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् । डेङ्गीलाई गल्तीले डेङ्गु भनी लेखिने ज्वरो लामखुट्टेको टोकाइ सर्ने र शीतोष्ण र समशीतोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेङ्गी भाइरसका कारण लाग्ने गर्दछ । सामान्यतया डेङ्गी भाइरसको संक्रमण भएको तीन दिनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन्छ । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेशी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्छ । केही बिरामीहरूमा यो रोग डेङ्गी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्दछ । त्यस्तै डेङ्गुको अर्को विकसित रूप हो । डेङ्गु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ । डेङ्गु धेरै प्रजातिको लामखुट्टेहरूको माध्यमबाट मानिसहरूमा सर्न सक्दछ ।

यो रोगका भाइरसहरू पाँच प्रकारका छन् । यीमध्ये कुनै एकको संक्रमण भएमा हाम्रो शरीरले जीवन भरीका लागि त्यस प्रजातिको भाइरसका विरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्छ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिको भाइरसका विरुद्ध छोटो अवधिका लागि मात्र काम गर्छ । एकपछि अर्को गरी लगातार हुने संक्रमणले गम्भीर खतरालाई बढावा दिन्छ । डेङ्गुको पहिचाको टुंगो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन् । यस्ता परीक्षणहरूमा बिरामीको रगतमा डेङ्गुको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टीबडी वा उक्त भाइरसको आरुएनए पत्ता लगाउने गरिन्छ । केही देशहरूमा डेङ्गुको संक्रमणबाट बचाउनका लागि एउटा खोपलाई मानयता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन ।

डेङगीबाट बच्न लामखुट्टेको बासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । यसका लागि मानिसको बसोबास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा शरीरको सबै भाग छोप्ने कपडा लगाउने गर्न सकिन्छ । भर्खरै देखा परेको मन्द वा मध्यम खालेको डेङ्गु छ भने मुखबाट वा नशाबाट तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेङ्गुको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन्छ । यो रोगको कारणले प्रत्येक वर्ष विश्वमा पाँच लाख मानिसहरू अस्पताल भर्ना हुने गरेका छन् । डेङ्गु लागेको बेलामा इबुप्रोफिनजस्ता ननस्टेरोइडल एन्टी इन्प्mलामेन्टरी औषधि प्रयोग गर्नु हुँदैन ।

डेङ्गु दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी रूपमा समस्या बनेको हो । हाल यो रोग विश्वका ११० देशहरूमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करिब पाँच करोडदेखि पाँच करोड २८ लाख मानिसहरू बिरामी पर्ने गरेका छन् । जसमध्ये करिब १० देखि २० हजार मानिसहरूको मृत्यु हुनेगरेको छ । डेङ्गुको महामारीको बारेमा सन् १७७५ मा लिखित तथ्य भेटिएको छ । यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टेका कारणले सर्ने गरेको तथ्य बीसौँ शताब्दीमै पत्ता लागेको थियो । लामखुट्टेलाई निर्मूल पार्न असम्भवजस्तै भएकोले सिधै भाइरसलाई नियन्त्रण गर्न औषधिहरूको बारेमा पनि अध्ययन भइरहेको छ ।

लक्षण तथा चिह्नहरूः- सामान्यतया डेङ्गु भाइरसको संक्रमण भएका करिब ८० प्रतिशत मानिसहरूमा रोगको कुनै लक्षण देखिँदैनन् वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छ । संक्रमितमध्ये पाँच प्रतिशत मानिसहरूमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पन तीनदेखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले चारदेखि सात दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन । प्रायजसो बालबालिकामा डेङ्गुको संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षणहरू देखिने गर्दछन् ।

त्यस्तै बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखा पर्दछ । डेङ्गुको पहिचानको लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ । लक्षण सुरु हुने अवस्था– फेब्राइल, गम्भीर अवस्था क्रिटिकल तथा निको हुने अवस्था– रिकभरी । लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियसभन्दा पनि उच्च ज्वरो आउने शरीरमा पीडा महसुस हुने तथा टाउको दुख्नेजस्तो लक्षण देखिन्छन् । यो अवस्था प्रायजसो दुई दिनदेखि सात दिनसम्म रहने गर्दछ । वाकवाकी लाग्ने तथा बान्ता हुने पनि हुन सक्दछ ।

डेङ्गुको संक्रमण भएका ५०–८० प्रतिशत बिरामीहरूमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्न सक्छ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो स–साना फोकाहरू देखा पर्छन् । रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्दछ । यस्ता फोकाहरूलाई अंग्रेजीमा आइसल्याण्ड अफ ह्वाइट इन असी आफ रेड (रातो समुन्द्रमा गोराहरूको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने कोषिकाहरू फुटेर छालामा स–साना थोप्लाहरू देखा पर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखा पर्दछन् ।

डेङ्गुको ज्वरो वा बच्न लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नु पर्छ । पानी जम्न सक्ने भाडाहरूजस्तै गमला फुलदान खाली बट्टा अलकत्रा वा मट्टितेल खाली ड्रमहरू गाडीका काम नलाग्ने टायहरूमा पानी जम्न नदिने । पानीका ट्यांकी लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हाली दिने साथै जम्मा भएको पानी सफा गर्ने । फूलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने ।

लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउनु पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्दछ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्दछ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरकै झ्यालढोकामा जाली लगाउन उपयुक्त हुन्छ । घरवरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ । डेङ्गु ज्वरोविरुद्धको खोप र खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेङ्गु ज्वरोको शंका लागेमा हुनसक्ने जटिलता बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।