
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित “विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा” छलफलमा मन्त्री पौडेलले सामूहिक प्रयत्नबाट शिक्षामा सुधार हुने बताए ।
बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शिक्षण संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्नेमा उनकाे भनाइ छ ।
विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्राविधिक तथा व्यावसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञहरुको सुझाव आवश्यक रहेको बताए ।
मन्त्री पौडेलले विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले वैशाखदेखि क्यालेन्डर प्रणाली लागू हुने विश्वास व्यक्त गरे ।