गाेरखकाली मेला गाेरखामा सुरु

बुधबार, असाेज ५, २०७९

गोरखा । ‘तेस्रो गोरखाकाली मेला २०७९’ सुरु भएको छ । हरमटारी क्लबको आयोजनामा सदरमुकाम स्थित रङशालामा मेला सुरु भएको हो । मेलाको निवर्तमान संघिय सांसद एवंम नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) केन्द्रीय सदस्य हरिराज अधिकारले एक कार्यक्रमका वीच उद्घाटन गरेका छन् ।

मेला असोज १४ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए । ‘गोरखाको संस्कार संस्कृतिको संरक्षण र प्रर्वद्धन आर्थिक, पर्यटन र ऐतिहासिक गोरखाको अभियान’ नाराका साथ सुरु भएको मेलामा बाल उद्यान, ब्यापारिक स्टल, कृषि सामाग्री लगायतका स्टलहरु राखिएको छ । मेलाको उद्घाटन सुरु हुनु अघि गोरखा बजार क्षेत्रमा बिभिन्न जातजाति, भाषाभाषीहरुको भेषभुषामा सजिएका झाँकी र्यालीले नगर परिक्रमा गरेको थियो ।

गोरखाको मुख्य पहिचानको खोजी गरी जिल्लाको चिनारीको प्रचार प्रसार गर्नुका साथै जिल्लामा बसोबास गर्ने जातजाती, संस्कृति, भेषभुषा र भाषाको संरक्षण एवम जगेर्ना गर्ने तथा जिल्लालाई पर्यटकिय हबको रुपमा बिकास गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको आयाेजककाे दावी छ ।  मेलामा औद्योगीक प्रदर्शनी, खाना महोत्सव, कन्सर्ट कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, जातीय भेषभुषा प्रदर्शन प्रतियोगिता लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।