Breaking News

मानवसेवा आश्रमका बालबालिकालाइ गाेरखा नगरपालिकाद्वारा स्वास्थ्य विमा

By मनासलु

October 01, 2022

असाेज १५, गाेरखा  । मानवसेवा आश्रम गोरखामा आश्रित रहेका ४८ जना बालबालिका सहित ५१ जनाको आज निशुल्क स्वास्थ बीमा गरिएको छ । गोरखा नगरपालिका गोरखाले आश्रममा रहेका बालबालिका सहित आश्रममा आश्रित रहेका सहयोगी र आमाहरुको पनि निशुल्क स्वास्थ बीमा गरिदिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले बताए ।

आश्रममा रहेका बालबालिकाहरुको स्वास्थ्य उपचारका लागि आर्थिक स्रोत जुटाउन आश्रमले समस्या भोगीरहेका बेला नगरपालिकाले निशुल्क स्वास्थ्य बीमा गरिदिएको हो । नगरपालिकाले गरिब बिपन्न तथा असाहायहरुका लागि सञ्चालन गरेको निशुल्क स्वास्थ बीमा कार्यक्रम अन्तर्गत आश्रममा रहेका बालबालिकाहरुको पनि निशुल्क स्वास्थ्य बीमा गरिदिएको उनले भने ।

‘आज स्वास्थ बिमा गरेका बालबालिकाको अबदेखि हरेक बर्ष नगरपालिकाले नै बीमा नवीकरण समेत गरिनेछ ।  ‘आश्रममा पुनः बालबालिका थप भएमा नगरपालिकाले आबश्यक व्यवस्था गरी थपिएका बालबालिकाहरुको पनि स्वास्थ्य बीमा गर्ने व्यवस्था गर्नेछ ।’ नगरपालिकाले गोरखा अस्पताललाई प्रमुख सेवा केन्द्रको रुपमा राखेर बालबालिकाहरुको बीमा गरेको नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालको भनाई छ ।

‘आश्रममा रहेका बालबालिकाहरुको उपचार गर्नुपर्ने अबस्था आएमा गोरखा अस्पतालमा उपचार लागी लैजानुपर्नेछ, ।  ‘तर त्यहाँ उपचार हुन नसक्ने अबस्था भएमा गोरखा अस्पतालको सिफरिसमा अन्यन्त्र स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालबाट पनि उनिहरुले १ लाख रुपैयासम्मको निशुल्क स्वास्थ्य उपचारको प्राप्त गर्नेछन् ।’

स्वास्थ्य बीमा गरेका बालबालिकाहरुले आउदो मंसिरदेखि निशुल्क उपचार सेवा प्राप्त गर्ने जनस्वास्थ्य निरीक्षक अर्यालले बताए । मानवसेवा आश्रम गोरखाले अभिभावक बिहिन बालबालिकाहरुको उद्धार गरी पालन पोषण र शिक्षादिक्षा प्रदान गर्दै आइरहेको आश्रमकी संयोजक मुना लामाले बताइन ।