Breaking News

भीमसेन थापा गाउँपालिकामा ‘भीमसेन थापा लोककल्याणकारी कोष’ स्थापना

By मनासलु

December 03, 2022

गोरखा ।  गोरखाको भीमसेन थापा गाउँपालिकामा ‘भीमसेन थापा लोक कल्याणकारी कोष’ स्थापना गरिएको छ । गाउँपालिकाले गाउँटोल घर–घरमा स्थानीय सरकारको प्रत्याभूति गराउदै बिशेष बहुप्रकोपिय बिमा कार्यक्रममा आबद्ध गराउन तथा अशक्तहरुको हकमा बिशेष अभियान सञ्चालन गर्न कोषको स्थापना गरिएको जनाएको छ । गाउँपालिका अध्यक्ष बन्जराले आफ्नो पहिलो महिनाको सेवा सुबिधा कोषलाई उपलब्ध गराएर कोषको औपचारिक स्थापना गरेका हुन् ।

पालिकाले सवैलाई बिमामा आबद्ध गराउनका लागि बिषेश अभियान सञ्चालन गर्नका अतिरिक्त अशक्तहरुको हकमा लोककल्याणकारी कोषको प्रयोग र परिचालन गरिने गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । योगदानमा आधारित सामाजिक सुरक्षाको नीति कायम गर्दै लैजानका लागि समेत गाउँपालिकाको बैठकबाट यस्तो निर्णय गरिएको उनले बताए ।

लोककल्याणकारी कोष पालिकालाई पूर्ण रुपमा सुरक्षित पालिका निर्माणका लागि परिचालन गर्ने योजनामा गाउँपालिका रहेको अध्यक्ष बन्जराले जानकारी दिए । गाउँपालिकाले आज एक सार्वजनिक सूचना समेत जारी गर्दै कोषमा आर्थिक सहयोगका लागि सवैलाई अपिल समेत गरेको छ । गाउँपालिकाले इच्छुक दाताहरुलाई न्यनतम एक दिनको पापरिश्रमिक कोषमा जम्मा गरी गाउँपालिकाको लोककल्याणककारी कार्यमा सहभागी हुन अपिल गरेको हो ।

सूचनामा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था सामाजिक संघसंस्था बैंक तथा बित्तिय संस्था सहकारी उद्यमी व्यवसायी लगायत सवैलाई कोषको मेगा बैंक लिमिटेडमा रहेको खाता नम्बर १०१००१००२५२५४ मा आर्थिक सहयोग गरी लोककल्याणकारी कार्यमा सहभागी हुन अनुरोध गरेको छ । भीमसेन थापा गाउँपालिकाले संबिधान प्रदत्त मौलिक हकको पूर्ण कार्यान्व्यन गरी ग्रेट स्र्माट हरियाली स्वच्छ सम्बृद्ध समाजबाद उन्मुख नमुना गाउँपालिका बनाउने नारा तय गरी काम गर्दै आएको छ ।