Breaking News

नागरिकहरुका हितमा अजिरकाेट गाउँपालिका अघि बढ्याे

By मनासलु

December 09, 2022

गोरखा, २३ मंसिर । अजिरकाेट गाउँपालिका भित्रका नागरिकहरुकाे हितमा यहाँकाे गाउँपालिका कार्यालय अघि बढेकाे छ ।  गोरखाको अजिरकोट गाउँपालिकाले भच्चेक बजार क्षेत्रमा जथाभावी पार्किङ गर्न निर्माण सामाग्री थुपार्न तथा होडिङ बोर्ड राख्न निषेध गरेको छ । गाउँपालिकाले पर्यटकिय भच्चेक बजार क्षेत्रको सौन्दर्यकरण, पर्यटन प्रवदर्धन, बजार व्यवस्थापनका लागि जथाभावी सडक पार्किङ नगर्न, निर्माण सामाग्री नराख्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए । गाउँपालिकाले १५ दिने सूचना जारी गर्दै जथाभावी राखिएका त्यस्ता सामाग्रीहरु हटाउन पनि निर्देशन दिएको छ ।

सडक भित्र पिच भागमा सवारी साधन पार्किङ गर्न नपाइने, रात्री कालिन पार्किङ बसपार्कमा गर्नुपर्ने, सडकमा निर्माण सामाग्री राख्न नपाइने, सडकमा सवारी साधन धुन तथा सरसफाई गर्न नपाइने प्रमुख प्रशासकिय अधिकृत भेषराज आर्चायद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । त्यस्तै पालिकाको राजस्व अभिबृद्धिका लागि पालिका भित्र सञ्चालित सवै उद्योग व्यवसाय गाउँपलिकामा अनिबार्य दर्ता तथा नविकरण हुनुपर्ने, घरेलु वा सम्बद्ध निकायमा दर्ता भइसकेको भए पनि गाउँपालिकामा अनिवार्य सूचिकृत गर्नुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

घरनक्सा पास लागू नभएको दत्तेदेखि नम्कीसम्म नयाँ संरचना निर्माण गर्दा अनिबार्यमा रुपमा गाउँपालिकाको स्विकृतिमा लिनुपर्ने गाउँपालिकाले सार्वजनिक गरेको सूचनमा उल्लेख छ । गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य खेलबाड हुनेगरी म्याद नाघेका खाद्यबस्तु बिक्रि बितरण नगर्न पनि सम्बन्धित सवैमा अनुरोध गरेको छ ।

व्यापार व्यवसाय गर्दा व्यवसायको नामको हेर्डिङबोर्ड तथा मूल्यसूची अनिबार्य राख्नुपर्ने जनाएको छ । पालिकाले दिएको निर्देशनको अटेर गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।