
गोरखा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरुलाई गोरखा मिलन समाज पोखराले एक कार्यक्रमका विच बधाई तथा शुभकामना प्रदान गरेको छ । राष्ट्रबैंकमा रहेको मझेरी फूड ल्याण्डमा आयोजित कार्यक्रमको सभापतित्व गोरखा मिलन समाजकी अध्यक्ष कोपिल श्रेष्ठले गर्नुभएको थियो । गोरखा जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित पुष्पकमल दाहाल (प्रचण्ड) देशको प्रधानमन्त्रीमा निर्वाचित भईसक्नु भएको छ भने अन्य प्रतिनीधि सभाका सांसद राजेन्द्र बजगाई (क्षेत्र नं. १), हितराज पाण्डे र एकनाथ ढकाल (समानुपातिक) भने राष्ट्रिय राजनीतिका कारण कार्यक्रममा उपस्थित हुन सक्नु भएन । प्रदेश तर्फबाट सुरन्द्रराज पाण्डे, कृष्ण धिताल बिजय, फणिन्द्र देबकोटा, नन्दप्रसाद न्यौपाने र सुशिला सिम्खडा (समानुपातिक) सांसदहरुलाई दोसल्ला सहित सम्मानपत्रबाट समाजले सम्मान गरेको हो ।
सम्मानपछि कार्यक्रममा बोल्दै माननीय सांसद नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गोरखाली जनता र भुगोलप्रति थप जिम्मेवारी हुँदै बिकास र समृद्धिमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय राजनीतिमा फेरबदल आएकाले आफ्नो पार्टी प्रतिपक्षको भूमीका निर्वाह गर्ने बताउँदै गोरखाको विकासको लागी सत्ता पक्ष र प्रतिपक्ष केही नभनी काम गर्न सबै माननीय सांसदहरुलाई आग्रह समेत गर्नुभयो ।
सांसद कृष्ण धिताल विजयले राष्ट्रिय राजनीति जता गएपनि गोरखाको हित र समृद्धिमै आफूहरुको पहल रहने बताउनुभयो । निर्वाचन अघि पनि समाजले चुनाव केन्द्रित कार्यक्रम राखेर आफूहरुलाई सहयोगसंगै खबरदारी गरेको बताउँदै निर्वाचित भएर आईरहदा सबैको साथ र खबरदारी उत्तिकै आवश्यकता रहने उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्ने निर्वाचित सबै सांसदहरुले गोरखाको विकास र समृद्धिमा समाजको खबरदारी सहित सहयोग र सुझाबको अपेक्षा गरेका थिए ।
निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै समाजका निवर्तमान अध्यक्ष कपिल पोख्रेलले गोरखाले धेरै अवसर पाउँदापनि बिकासमा फड्को मार्न नसकेको बताउनुभयो । हरेक निर्वाचनमा गोरखाले केन्द्रीय राजनीति तथा जननिर्वाचिन सांसदहरु सरकारी उच्च ओहदामा पुगेपनि उपलब्धीमा खासै नयाँपनि दिन नसक्दा जनतामा निरासा आएकाले योपटक त्यसलाई सच्चाउँदै विकास र समिृद्धको अनुभुति गर्ने काम गर्न सबै सांसदहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा समाजको परिचय पूर्व अध्यक्ष सूर्य क्षेत्रीले दिनुभएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष अग्रिम श्रेष्ठ र कार्यक्रमको संचालन महासचिव सन्तबहादुर लामिछानेले गर्नुभएको थियो ।