Breaking News

राष्ट्रपतिमा सर्वसम्मत हुँदा राम्रो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

By मनासलु

February 26, 2023

बारपाक सुलिकाेट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा सर्वसम्मत हुनु राम्रो हुने बताएका छन् । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा आज आयोजित बारपाक सुलिकोट रनिङशिल्ड प्रतियोगिता समापन तथा शहिद बेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘देशमा धेरै राजनैतिक उतारचढाव भए । निर्वाचन लड्दै गर्दा जुन जुन राजनैतिक दलहरु मिलेर जनतामा भोट मागेका थियौँ, गर्दै जाँदा परिस्थिति नयाँ बन्यो र म प्रधानमन्त्री भिन्न तरिकाले भएँ र हिजो मात्रै राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा आठ राजनैतिक दल एक ठाउँमा भयौँ । नेकपा एमालेसँग पनि लगातार हाम्रो कुरा भइराखेको छ । हाम्रो कोशिस छ फागुन २५ गते सम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मत होस् यदि हामीले भनेजस्तै भयो भने ज्यादै राम्रो हुन्छ । ’

प्रधानमन्त्री प्रचण्डले आफ्नो जीवनको बाँकी कार्याकाल सुशासन र विकासका लागि प्रयोग गर्ने बताए ।

आफू प्रधानमन्त्री भए लगतै अर्थतन्त्रमा सुधारका सँकेत देखिएको उहाँले बताए । एउटै कामका लागि तीनचार कमिटी वा सँरचना छन् भने त्यसलाई घटाउने प्रक्रिया थालिएको छ । प्रधानमन्त्रीको आफ्नो तेस्रो कार्यालय भएको र यसमा केही ठूला परियोजना, मेघा प्रोजेक्ट मार्फत र केही भौतिक पूर्वाधार निर्माण तिर आफ्नो ध्यान रहेको बताए । सबैको गुणात्मक सहयोगबाट देशमा सुशासन कायम हुन्छ र आउने पिढीले पनि सम्झिरहनेछन् प्रधानमन्त्री प्रचण्डले भने । नयाँ राजनैतिक यात्रा स्थायित्व र विकासका निम्ति अझ सहयोगि हुनेमा आफू विश्वस्त रहेको उहाँले बताए ।

बारपाक सुलिकाेट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टकाे अध्यक्षतामा भएकाे कार्यक्रममा माओवादी नेता हितराज पाँण्डे उपाध्यक्ष सनमाया गुरुङ, निर्वाचन आयाेजका पूर्व कार्यबाहक मुख्य निर्वाचन आयुक्त दाेलख बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।