चैत ७ गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालमा विकासको नयाँ मोडलबारे सरोकारवालाहरुलाइ बोलाएर वृहत छलफल गरिने बताएका छन् ।
गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ पालुङटार वडा नम्बर २ स्थित पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “उत्पादन वृद्धिको कार्ययोजनामा विकास निर्माणलाइ जोड्नुपर्दछ, नेपालमा विकासको मोडलबारेमा पुनः विचार गर्नुपर्छ, यसबारेमा छिट्टै नै सरोकारवालाहरुलाई बोलाएर वृहत छलफल गरिन्छ । विकासले रोजगारी श्रृष्टी गर्ने, उत्पादन वृद्धि गर्ने र गाउँघरमा युवा जनशक्ति पलायन हुनबाट रोक्नुपर्दछ” ।
जनताको सुशासन र सामाजिक न्याय र समृद्धिको आकाँक्षा पुरा गर्न सँघीय सरकारलाई पूणर्ता दिने प्रदेश सरकारलाई पूर्णता दिने दाहालले बताए ।
विकासलाइ शिक्षा, स्वास्थ्य र रोजगारी श्रृष्टीसँग जोडेर योजना बनाउनुपर्ने उनले बताए । बाटो निर्माणले मात्रै विकास नहुने उनले बताए । देशमा युवा पलायन हुन रोक्नका लागि सँकल्प गरेको उनले बताए । गोरखाली दाजुभाइ दिदी वहिनीहरुको सहयोग, सद्भाव र मायाले आफू प्रधानमन्त्री भएको बताउँदैले आफूले सकेको देश र जनताको पक्षमा काम गर्ने बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ,पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ, नेपाली काँग्रेस का नेता सुरेन्द्रराज पाण्डे, पालुङटार नगरप्रमुख विवस चिन्तन लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम सडक विभागका महानिर्देशक शुसिलबाबु ढकालकाे अध्यक्षता र पूर्वाधार मन्त्रालयका कर्मचारी कल्पना अधिकारीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।