गोरखा । जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिकामा पशुबस्तुको स्वास्थ्य उपचार तथा बाँझोपन रोग निवारण लागि एक दिने शिविर सम्पन्न भएको छ ।
भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोग र गाउँपालिका पशु शाखा तथा वडा कार्यालयको आर्थिक सहयोगमा वडा नम्बर ४ स्थित रन्चोकमा भएको शिविरमा झण्डै सात हजार ५ सय ८० वटा पशुबस्तुको निशुल्क स्वास्थ्य उपचार गरिएको पशुसेवा विज्ञकेन्द्र गोरखाका अधिकृत तथा सूचना अधिकारी डा. लालमणी अर्यालले जानकारी दिए । ‘शिविरका क्रममा बिभिन्न एकसय ३७ शिर्षकमा पशुबस्तुको उपचार गरिएको थियो । ‘सो क्रममा ४ सय ११ वटा गाईगोरु, २ हजार ७ सय ८० वटा भोडाबाख्राको उपचार गरिएको हो ।’
त्यस्तै राँगाभैसी २ सय ४६ वटा तथा कुखुरा ४ हजार एकसय ४६ वटाको औषधी उपचार गरिएको उनले बताए । उपचारका क्रममा पशुवस्तुका लागि आवश्यक पर्ने औषधी पशुपालक किसानहरुलाई वितरण गरिनुका साथै औषधी प्रयोगका लागि समेत पशुपालक किसानहरुलाई जानकारी प्रदान गरिएको डा.अर्यालले बताए । ‘शिविरमा ६ वटा कुकुरमा रेबिज बिरुद्धको भ्याक्सिन दिइएको छ, उहाँले भन्नुभयो, ‘परीक्षणका लागि ४० जना पशुपालक कृषकले ल्याएका पशुबस्तुका गोवर समेत जाँच गरिएको छ ।’
भेटरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखाका निमित्त प्रमुख डा. शर्मिला कुमालको नेतृत्वमा भएको शिविरमा पशुस्वास्थ्य उपचार शिविरमा, डा. लालमणी अर्याल, बारपाक पोलिटेक्निक इन्टिच्युटका डा.कमल बस्याल, बारपाक सुलिकोट गाउँपालिका पशुसेवा शाखाका प्रमुख हिक्मतबहादुर खड्का लगायतको टोली पशुवस्तुको उपचार गरेका थिए । गाउँमै आएर पशुचिकित्सकहरुबाट आफ्ना घरपालुका बस्तुवस्तुको उपचार गराउन भएपछि पशुपालक किसानहरु पनि खुशी भएका छन् ।