आरुघाट, गाेरखा । उमेर ८५ वर्ष पुगेकी विष्णुमाया गुरुङ आरुपाेखरीबाट बुहारी मनमायाकाे बुइ चढेर आरुचनाैटे प्राथमिक स्वास्थ्य केन्द्रमा बैशाख २५ गते आइपुगेकी थिइन । साेही दिन उनका दुइवटा आँखाकाे शल्यक्रिया भयाे ।
आज आँखाकाे पट्टी खाेलेपछि उनले सँसार देखिन, १४ वर्षदेखि देख्न नपाएका बुहारीलाइ पनि देख्न पाइन । यसरी फेरी देख्न पाइएला भन्ने कल्पना नगरेकी विष्णुमाया निक्कै खुशी भइन ।
दुइवटै आँखाले देख्न थालेपछि उनले सबैलाइ पहिचान गर्न सफल भएकी थिइन । आरुघाट गाउँपालिकाकाे समन्वयमा बैशाख १७ गतेदेखि २४ गते सम्म वडा तहमा आँखाकाे निशुल्क शिविर सञ्चालन भएकाे थियाे । शिविरमा आएका विरामी मध्ये शल्य क्रिया गर्नुपर्नेलाइ आरुचनाैटे प्राथमिक स्वास्थ्य केन्द्रमा बैशाख २५ र २६ गते शल्य क्रिया गरिएकाे थियाे ।
हिमालयन आँखा अस्पताल पाेखराकाे प्राविधिक सहयाेग, नेपाल नेत्रहिन सँघ पुनस्थापन कार्यक्रम गाेरखा, गाेरखा लायन्स आँखा सेवा केन्द्र गाेरखाकाे आयाेजना र आरुघाट गाउँपालिकाकाे समन्वयमा निशुल्क उपचार शिविर सञ्चालन भएकाे आरुघाट गाउँपालिका स्वास्थ्य शाखा सह सँयाेजक सुनिता अधिकारीले बताइन ।
हिमालय आँखा अस्पताल पाेखराका नेत्र राेग विशेषज्ञ आशिष जमकट्टेलकाे प्राविधिक टाेलीले आँखा विरामीकाे उपचार गरेकाे हाे । शिविरमा पालिका भित्र रहेका १० वडाका एक हजार ७८ जनाकाे आँखा परीक्षण गरिएकाे थियाे । ८१ जनाकाे आरुचनाैटे प्राथमिक स्वास्थ्य केन्द्रमा सफल शल्यक्रिया गरिएकाे हाे । छनाैट भएका १५४ मध्ये अन्यलाइ औषधीकाे व्यवस्थापनबाट उपचार गरिएकाे थियाे ।
उपचारमा सँलग्न चिकित्सक, नेत्रहिनसँघका प्रतिनिधि, लायन्स क्लवका प्रतिनिधिहरुलाइ आरुघाट गाउँपालिकाले कदरपत्र प्रदान गरी धन्यवाद सहित विदाइ गरेकाे छ । हिमालय आँखा अस्पताल पाेखराले कर्णाली र गण्डकी प्रदेशमा सेवा प्रदान गर्दै आइरहेकाे छ ।
शिविरकाे उद्घाटन आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ गरेका थिए । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख प्रविण थापाले स्वागत मन्तव्य राखेका थिए ।
समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष बुद्धि प्रसाद श्रेष्ठ, पालिका भित्रका अन्य जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।