गाेरखा नगरपालिकाद्वारा माेतिविन्दुका विरामीकाे निशुल्क अप्रेशन सेवा सुरु

आइतवार, साउन २१, २०८०

गोरखा । गोरखा नगरपालिकाले नगरभित्रका आफ्ना नागरिकहरुको आँखाको मोतिविन्दुको उपचार निशुल्क गर्ने भएको छ ।

नगरपालिका मेयर कृष्ण रानाले आज गोरखा लायन्स आँखा सेवा केन्द्रसँग सँम्झौता गरी यसै चालुवर्षदेखि नगरभित्रका नागरिकहरुको नागरिकता, जन्मदर्ता, मतदाता परिचयपत्र लगायतका पहिचान खुल्ने कागजात लिएर उपचार गर्ने र त्यसको सम्पूणर् भर्पाइ गोरखा नगरपालिकालाई बुझाएर भुक्तानि लिने गरी सम्झौता भएको हो । नगरपालिकाले पहिलो किस्ता वापत रु पाँच लाख रुपैयाँ तत्कालै दिने भएको छ ।

वर्ष भरीमा ५ लाखको उपचार नभए उक्त रकम अर्को आर्थिक वर्षका लागि प्रयोग गर्न सकिने र अपुग भए पुन माग गर्न सकिने व्यवस्था रहेको छ ।

आँखा सेवा केन्द्र गोरखाका अध्यक्ष योङ कुमार श्रेष्ठ र मेयर रानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा गोरखा नगरपालिका उपमेयर मसलीमाया थोकर, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन, जनस्वास्थ्य अधिकृत ईश्वरबाबु रेग्मी, जनस्वास्थ्य निरीक्षक, निश्चल अर्यालय, लायन्स क्लव अफ गोरखा अध्यक्ष भगवानबाबु मास्के,उपाध्यक्ष श्रवणकुमार जोशी, सचिव अन्जित कुमार श्रेष्ठ, प्रशासकीय अधिकृत विश्व प्रकाश अर्यालको उपस्थिति रहेको थियो ।

सम्झौता भएको पहिलो दिन ८ जना विरामीको शल्यक्रिया भएको छ । यस अघि गोरखा नगरपालिकाले नगरका नागरिकहरुका लागि गोरखा अस्पतालबाट निशुल्क सेवा प्रदान गर्दै आएको छ । नगरभित्र निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ ।