मनकामनादेखि गोरखकाली मन्दिरसम्म खुल्ला म्याराथन हुने

मङ्लबार, भदौ १२, २०८०

गाेरखा । जिल्लाकाे   धार्मिक स्थल मनकामनादेखि गोरखकाली मन्दिरसम्म खुल्ला म्याराथन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आगामी पुष १ गते ४२.१९५ किमिको दौड प्रतियोगिता हुने भएकाे हाे ।

म्याराथनमा उपाधि विजेता धावकले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने दोश्रो हुनेले १ लाख, तेश्रोले ७५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिं बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा चौथो देखि १० औं स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः नगद ६० हजार, ५० हजार, ४० हजार, ३५ हजार, २५ हजार, २० हजार र १५ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा दौड पुरा गर्ने सबै धावकलाई मेडल प्रदान गरिनेछ । खेलकुद मार्फत जिल्लाका दुई महत्वपूर्ण धार्मिक केन्द्रहरुको प्रचार प्रसारसंगै समग्र गोरखा जिल्लालाई खेलकुद केन्द्रको रुपमा विकास गर्न तथा यूवा खेलाडी उत्पादनका लागि म्याराथन दौडले महत्वपूर्ण भूमिका खेल्ने बताइएकाे छ ।

म्याराथन प्रतियोगिता सम्पन्न गर्न अन्दाजी ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष बस्नेतले बताए ।