शहिदलखनमा करदाता शिक्षा कार्यक्रम

आइतवार, भदौ ३१, २०८०

गाेरखा ।  करदाता सेवा कार्यालय गोरखाले स्थानीय तहहरुमा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेकाे छ ।  प्यान दर्ता, भ्याट दर्ता तथा अन्तःशुल्क इजाजत पत्र लगायतका विषयबारे जानकारी दिन पालिका केन्द्रित कार्यक्रम शुरु गरिएको कार्यालयका कर अधिकृत हिमलाल चापागाईंले जानकारी दिए ।

आइतवार शहिद लखन गाऊँपालिकाको मनकामनामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ । करदाता सेवा कार्यालय गोरखाको आयोजना तथा गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई र शहिद लखन गाउँपालिका गोरखाको संयोजनमा कार्यक्रम भएको हो ।

कार्यक्रममा करदाता सेवा कार्यालयका कर अधिकृत हिमलाल चापागाई र डाटा इन्ट्री सुपरभाइजर पूर्णबहादुर तामाङले कार्यालयले प्रदान गर्ने सेवाका विषयमा जानकारी गराएका थिए ।

प्यान दर्ता, भ्याट दर्ता तथा अन्तःशुल्क इजाजत पत्र, घरमै बसी आय विवरण बुझाउने तरीका, कर कसरी तिर्ने, कर चुक्ता कसरी निकाल्ने जस्ता विषयमा सहभागीहरुलाई जानकारी गराइएको कर अधिकृत चापागाईंले बताए ।

६० जनाभन्दा बढी करदाताहरु सहभागी रहेको कार्यक्रममा करदाताहरुले करदाता शिक्षा कार्यक्रमबाट लाभान्वित भएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन हुनुपर्ने माग गरेका छन् । सहभागीहरुले मिसम्याच के हो, बक्यौता कसरी सिर्जना हुन्छ, कर तिर्ने समय कुन हो जस्ता विषयमा चासाे राखेका थिए ।

शहिद लखन गाउँपलिका २ की वडाध्यक्ष सकुन थापा मगरको अध्यक्षतामा भएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, उद्योग वाणिज्य संघ मनकामना बजार इकाईका अध्यक्ष हरी श्रेष्ठले करदाताहरुको कर सहभागिता बढाउन सबैको साथ रहनु पर्ने बताए ।

करदाता शिक्षा कार्यक्रमलाई करदाताको माग र आवश्यकताको पहिचान गरि जिल्ला भरि नै सञ्चालन गर्ने योजना रहेको करदाता सेवा कार्यालयले जनाएको छ ।