नेकपा माओवादी केन्द्रले आज गरेकाे पत्रकार सम्मेलनकाे दृश्य ।

राजनीति

देश हाम्रै एजेण्डा वरिपरि घुमिरहेको छ, २०८४ मा एक्लै लडेर पहिलो पार्टी बन्छौं : प्रवक्ता सापकोटा

By मनासलु

October 01, 2023

काठमाडौँ, १४ असोज । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले माओवादीले त्यहीअनुसार अहिले तीन महिने अभियान चलाइरहेको बताउदै तीन महिने अभियान लगत्तै आफूहरु विधान सम्मेलन हुँदै विशेष महाधिवेशनमा जाने उहाँको भनाइ छ । प्रवक्ता सापकोटाले भने, ‘अहिले हाम्रो एजेण्डामा देश घुमिरहेको छ । तर, त्यो संगठनमा अभिव्यक्त भएको छैन । त्यो संगठनमा अभिव्यक्त हुने र पहिलो पार्टी हुने संकल्पका साथ अगाडि बढेरहेका छौं ।’

पूर्वसभामुख समेत रहनुभएका प्रवक्ता सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल बन्दै अवस्थामा रहेको समेत बताए । उनले सबै मिलेर मेहनत गर्ने हो भने देखिएको समस्या समाधान हुने बताए ।

प्रवक्ता सापकोटाले अहिले चुनौतीभन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतीमै सम्भावनाका ढोका खुल्ने समेत उल्लेख गरे। उनले पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको जानकारी दिए ।उनले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेको समेत बताए ।

प्रवक्ता सापकोटाले भने, ‘भूराजनीतिक अवस्थाले गर्दा हाम्रो अवस्था अलि पेचिलो र जटिल छ । तर हामीले मेहनत गर्ने हो भने देखापरेको समस्याको समाधान गर्न सकिन्छ। सम्भावना पनि छ यसमा। अहिले चुनौति भन्दा बढी सम्भावना छ। यस्तै बेलामा ढोकाहरु खुल्छन्। भारत भ्रमण होस् वा संयुक्त राष्ट्रसंघको महासभामा जाँदा भएका सम्झौताहरु भन्नुस्, यसको एकमुष्ठ निस्कर्ष निकाल्दा अहिले राजनीतिक रुपमा पनि एउटा सन्देश त गएको छ, त्योभन्दा कयौँ गुणा बढी, अहिले हामी राजनीतिक पार्टीप्रतिको अपेक्षा बढी छ, विशेष गरी माओवादीप्रति अपेक्षा बढी छ । हामीले एउटा आँधिबेहरी श्रृष्टि गरेका छौँ।