विदेश

नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द

By मनासलु

October 02, 2023

नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको छ। अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिबार राति जारी विज्ञप्तिमा जनाइएको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा ‘भारत सरकारको असहयोग, अफगानिस्तानको राष्ट्रिय स्वार्थ भारतमा प्रवर्द्धन गर्न अक्षम भएको तथा कर्मचारी एवं अन्य आवश्यक स्रोतको अभावमा दूतावास बन्द गर्नुपरेको’ उल्लेख छ।

भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन। त्यहाँ तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कूटनीतिक उपस्थिति निलम्बन गरेको छ। जुन २०२२ मा नयाँदिल्लीले अफगानिस्तानको राजधानीमा भारतीय मानवीय सहायता समन्वय गर्न एउटा प्राविधिक टोली मात्र परिचालन गरेको छ।

यही असोज ८ गते भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै अफगानिस्तानको राजदूतावासले भारत सरकारबाट कूटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा दूतावास बन्द हुने जानकारी दिएको थियो।