मनकामना । गोरखाको शहिदलखन गाउँपालिकाले बजार अनुगमनलाई तीब्र पारेको छ । नागरिकहरुको स्वास्थ्य सुरक्षालाइ ध्यान दिदै पालिकाभित्र रहेका बजारमा रहेका होटल तथा पसलहरुको अनुगमन गरिएको पालिकाले जनाएको छ । पालिकाले शनिबार वडा नम्बर २ र ३ को मनकामना बजारमा अनुमगन गरेकाे हाे ।
अनुगमनका क्रममा अधिकांश होटलहरुमा मूल्य सूचि नराखेको, केही ब्यवसायहरु वडामा दर्ता नभएको भेटिएको गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले बताइन । साथै केही होटलहरुमा बाल मजदुर प्रयोग गरिएको पनि भेटिएको उपाध्यक्ष तिवारीकाे भनाइ छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएको पेय पदार्थ कोक,फ्रुटी, डिउ, फ्यान्टा, बडवाइजर बियर लगायत मदिराहरु भेटिएको थियाे ।
गाउँपालिकाले म्याद गुज्रिएको खाद्य सामाग्री विक्री वितरण नगर्न, होटलहरुमा कामदारको रुपमा बालबालिका नराख्न र मूल्य सूचि राख्न निर्देशन दिएको र अटेर गरे कारबाही गर्ने चेतावनी दिएको छ । स्थानीय तहमा व्यावसाय दर्ता गरेर मात्र कारोवार गर्न समेत पालिकाले सचेत गराएको छ ।
अनुगमनमा जनप्रतिनिधि,पालिका कर्मचारी,सञ्चारकर्मी र स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । पालिकाले शुक्रबार पनि वडा नम्बर ७ र ८ का पसलहरुमा अनुगमन गरेकाे प्रशासन शाखा प्रमुख एवँ अनुगमन सँयाेजक पूर्ण बहादुर गहतराजले बताए ।
स्थानीय तहमा दर्ता नगरी व्यापार व्यावसाय नगर्न गाउँपालिकाले निर्देशन दिएकाे हाे । वडा कार्यायलयमा व्यावसाय दर्ता गरेर मात्र व्यावसाय गर्नुपर्ने प्रावधान रहेकाे छ ।
अनुगमनकाे क्रममा भेटिएका अखाद्यबस्तु नियन्त्रणमा लिइएकाे कार्यक्रम सँयाेजक गहतराजले बताए । अनुगमन निरन्तर चलिरहने उनकाे भनाइ छ । बजार अनुगमनकाे क्रममा स्थानीय जनप्रतिनिधि, उद्याेग वाणिज्य सँघका इकाइ अध्यक्ष, सञ्चारकर्मी लगायतकाे सहभागिता रहेकाे थियाे ।