Breaking News

जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्न गुटरेस अन्नपूर्ण बेसक्याम्प पुगे

By मनासलु

October 31, 2023

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प पुगे । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी बेसक्याम्प पुगेका थिए ।

पौने घण्टा बेसक्याम्पमा रहँदा उनले स्थानीयसँग जलवायु परिवर्तनको असरबारे अनुभव सोधेका थिए । सो क्रममा स्थानीयले आफूहरूले भोगेका समस्या गुटेरेसलाई सुनाएका थिए ।

गाउँपालिकाका अध्यक्ष विष्णु केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराएका थिए भने वडाध्यक्ष हिमबहादुर गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए ।

कार्यक्रममा महासचिव गुटेरेसले विकसित देशका कारण जलवायु परिवर्तन भएको बताए । नेपालको समस्याबारे अन्तर्राष्ट्रिय फोरममा कुरा उठाउने पनि उनले बताए ।

‘अहिले तपाईंहरुले भोग्नुभएको समस्या नेपालका कारणले सिर्जना भएको होइन । विकसित देशका कारण भएको हो’, उनलाई उद्धृत गर्दै अन्नपूर्ण ११ का वडाध्यक्ष गुरुङले भने, ‘म यो समस्याको बारेमा अन्तर्राष्ट्रिय फोरममा कुरा उठाउँछु ।’

अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किएका महासचिव गुटेरेस अहिले केही बेरमा लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गुटेरेसले लुम्बिनीको भ्रमण गर्नेछन् । उनले आजै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ ।