Breaking News

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०८०,गाेरखामा प्रभातफेरी कार्यक्रम

By मनासलु

November 25, 2023

गाेरखा । गाेरखामा आजबाट “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान थालनी भएकाे छ ।

आजा गाेरखा जिल्ला सदरमुकाममा जिल्ला समन्वय समिति गोरखाका समन्वय प्रमुख मोहन बहादुर थापा मगरज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रमकाे सुरुवात भएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय गोरखा देखि ठुलोआगन सम्म प्रभातफेरी र्यालि समेत निकालिएकाे थियाे ।

सन् १९९१ देखि सुरु भएको लैंगिक हिंसाविरुद्ध विश्वव्यापी अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् यो वर्ष मंसिर ९ देखि २५ सम्म मनाइँदै छ । नेपालमा यो अभियान २०५४ सालदेखि देशव्यापीरुपमा सञ्चालन हुँदै आएको हो ।

सन् १९६० को नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदी बहिनी पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो । उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिँदै उनीहरूको सम्मान र सम्झनामा १६ दिने अभियान मनाउन थालिएको हो ।

दिवस बर्सेनि मनाउने गरिए पनि लैंगिक हिंसाका घटना भने कम भएका छैनन् । अभियानले चेतना वृद्धिको काम भने गरेको छ । प्रविधिको विकाससँगै लैंगिक हिंसाका घटनाका स्वरुपहरु परिवर्तन भइरहँदा सुरक्षा निकायलाई छानबिन र पीडितलाई न्याय दिलाउने काममा चुनौती थपिएको छ ।

प्रभातफेरीमा समन्वय प्रमुख थापा मगर, गोरखा नगरपालिकाकी उपप्रमुख मसली मायाँ थोकर पुनः, नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना, सामुदायिक सेवा केन्द्र गोरखा, रुम टु रिड, मानव अधिकारीकर्मीहरु तथा विभिन्न सरकारी कार्यालय तथा सरोकार वाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।