व्यावसायिक उत्पादन गर्ने गरी कृषकका माग निवेदन आए वडाको ५० प्रतिशत बजेट कृषिमा लगानी गर्छु : वडा अध्यक्ष थापा

शनिबार, पुस २८, २०८०

गोरखा २८ पुष । गोरखा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल बहादुर थापा मगरले उत्पादन गर्ने र बजारमा बस्तुको विक्री गर्ने उदेश्य राखेर कुनै पनि किसानले वडामा कृषि प्रविधि, विउ, मल, तालिम लगायतका विषय माग गरेमा वडाको कुल बजेटको ५० प्रतिशत बजेट कृषि क्षेत्रमा लगानी गर्न आफू तयार रहेको बताएका छन् ।
वडामा रहेको दरौँदी कृषि सहकारी सँस्था लिमिटेडको छैँठौँ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहका थापाले भने, विदेशबाट आउने तरकारीलाई रोक्नका लागि हामीले कुन्दुरटारमा खेती गर्नुपर्दछ, डोकोमा बोकेर बजार जाने होइन, यहीको कृषि सहकारीमा राखेर विक्री गर्नुपर्दछ, विदेशी आयात रोक्न एक डोको फलाउनेले आव दुई÷तीन डोको फलाउनुपर्दछ, वडाले के सहयोग गर्नुपर्दछ माग गर्नुहोस् म तपाइँहरुको माग पूरा गर्न सक्षम छु, वडा कार्यालय सक्षम छ, कटरमेसिन, मिनीटेलर, पाइप, विउ , मल के चाहिएको हो माग गर्नुहोस् । आफूले सबै कुराहरु माग गर्दे गर्दा केही लगानी गर्ने सोच पनि बनाउनुहोला त्यसो भयो भने माया र जतन हुन्छ, पहिरो रोकथाम गर्न दिएका जाली घिरौँलाका थाक्रा बनाउने, खानेपानीका लागि दिएको पाइप कोठामा थुनेर राख्ने, बनाइदिएका बाख्राको खोरमा बाख्रा नहुने अवस्थाको अन्त्य हुन जरुरी छ, पहिलो आफूले राम्रो गरौँ न अनि अरुतिर औँला सोझ्याउँला । सरकारले मात्र लगानी गरेर उत्पादन गरेर खान्छु भन्नेले काम गर्दैन, तपाइँहरुले गरेको लगानीमा सरकारले साथ दिएन भने कुन ढोकामा पुग्नुपर्दछ वडा अध्यक्ष पुग्छ, पहिले आफूले उत्पादन गरेर देखाउनुस् उनले भने ।

वडा नम्बर १२ मा केको कमी छ ? मोटर बाटो सबैको घरमा पुगेको छ, सबै ठाउँमा गाडी, एम्बुलेन्स जान्छ, विजुली, खानेपानी सबै घरमा छ, वडा सम्पन्न छ तर हामी जनतालाई उत्पादनमा लाग्न के चिजले रोकेको छ भन्दै उनले प्रति प्रश्न गरेका छन् ।
कार्यक्रममा विशिष्ट अथिति सँस्थाका सँस्थापक अध्यक्ष यङ्गनाथ अर्यालले सँस्थालाई थप गतिदिन अझै कसरत गर्नुपर्ने बताए ।
सँस्थाका अध्यक्ष सँगिता कुमालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पुण्यकुमारी कुमालले सचिवको प्रतिवेदन र कोषाध्यक्ष सुसिला खनालले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।

सँस्थाले आर्थिक वर्ष ०७९÷०८० मा ५३ लाख ९९ हजार ४४६ रुपैयाँको कारोवार गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा सँस्थाका सेयर सदस्य एवँ विभिन्न सँघ सँस्थाका प्रतिनिधिहरु रुद्र प्रसाद सेढाईँ, लेखा समिति सँयोजक ज्ञान प्रसाद ढकाल, बुद्धि बहादुर कुमाल, वडा सदस्य चोभनाथ सँग्रौला, चञ्चला ज्ञवाली, टोप बहादुर कुमाल, शँकरराज पाण्डे, हर्क बहादुर कुमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सँस्थाका उपाध्यक्ष कृष्ण प्रसाद अर्यालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा महेन्द्रमावि कुन्दुरमा अध्ययनरत दुइ जान जेहेन्दार छात्रछात्राहरुलाई स्टेशनरी सामग्री समेत प्रदान गरिएको थियो ।