गजल

कविता : आमा

By मनासलु

May 08, 2024

प्रत्येक सन्तानको मायालाई सुकिलो पोल्टामा गुटुमुटु पारेर न्यानो पछ्यौरीका सप्कामा मीठो सपना लुटुपुटु पारेर आमा हरेक साँझ – बिहान दुः ख छर्छिन् खुुसी उमार्न ।

असन्तुष्टिको पहाड लुकाएर पीरमा पनि हाँसिदिन्छन् अभावका आँसु सँगालेर ममताको न्यानो पोखिदिन्छन् बाँधेर सन्तानको माया जवानीका तुनामा साँचेर अव्यक्त ममता हृदयका कुनामा आमा आफू हारेर जितको कथा भन्छिन् सन्तानका जीवनमा उज्यालो छर्न ।

आमा भावनाका डोरीमा मीठो सपना बुन्छिन् सङ्कल्पको सियोले अभावको भोटो तुन्छिन् जाँगर पोखेर आँगनभरि शान्तिको गोबरले दैलो पोत्छिन् ब्युँझो रही चारै प्रहर सन्तानका निम्ति अनिदो नै सुत्छिन् आमा तिम्रा प्रत्येक बसन्तले मेरो जीवनमा हरियाली छाएको छ

तिम्रा प्रत्येक असारले सुख्खा हृदय रसाएको छ आमा निभेका अगेनामा विश्वासको आगो सल्काउँछिन् सन्तानको जीवनमा प्राण भर्न

आमा – हरेका सन्तानको सिङ्गै बसन्त, ठण्डी र धुप थरी –थरी रङ्ग, थरी– थरी रुप सृष्टिका खानी, सृजनाकी मूल धरतीको घाम, पानी र फूल । ( संपूर्ण आमाहरुमा हार्दिक संमान)

रमेश बाबु थापा मगर अध्यक्ष, शहिद लखन गाउँपालिका गाेरखा