Breaking News

हिक्लुङ — फिस्लिङ विद्युतीय रोपवेको विस्तृत सर्भे

By मनासलु

July 31, 2024

१६ साउन, गोरखा । नौविसे मुग्लिन हाइवेको फिस्लिङबाट माथि देखिने हिक्लुङको डाँडाबाट फिस्लिङ सम्म विद्युतीय रोपवे निर्माण हुने भएको छ । गण्डकी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सँयुक्त प्रयासबाट हिक्लुङ फिस्लिङ विद्युतीय रोपवेको विस्तृत सर्भे भएको छ । गण्डकी गाउँपालिकालाई आ.ब. २०८१।८२ मा विशेष अनुदानमार्फत प्राप्त हिक्लुङ तरकारी ढुवानी विध्युतीय रोपवे कार्यक्रमको विस्तृत प्राविधिक अध्ययनको स्थलगत अध्ययनको थालनी गण्डकी गाउँपालिका तथा प्राविधिक परामर्शदाता रोपवे नेपालको संयुक्त टोलीद्धारा सर्भे सम्पन्न भएको छ ।

२०६६ सालमा प्राक्टिल एक्सनको सहयोग र समाज विकास तथा अनुसन्धान केन्द्र (सिकोडर) गोरखाको व्यवस्थापनमा ग्राभिटि रोपवे निर्माण भएको थियो ।

हिक्लुङ, थुम्काका नागरिकहरुको गरिवि हटाउने उदेश्यले यहाँ रोपवे निर्माण गरिएको थियो । रोपवे निर्माणसँगै माथिका समान तल झार्ने र तलका समान माथि लैजाने काममा सहयोग पुगेको थियो । यस क्षेत्रका नागरिकहरुले विशेष गरी तरकारी खेती गरी आफ्नो जीवन स्तर परिवर्तन गरेका थिए ।

केही वर्ष अघि सम्म ग्राभिटी रोपवे सञ्चालनमा रहेपनि ग्रामिण क्षेत्रमा सडक विस्तारसँगै रोपवेबाट समान ल्याउने र लैजाने प्रक्रिया रोकिएको थियो । ग्रामिण क्षेत्रका जोखिमयुक्त सडक भन्दा रोपवे नै प्रभावकारी र कम खर्चिलो हुने किसानहरुले व्यवहारीक अनुभव गरेपछि यहाँ विद्युतीय रोपवे निर्माणको काम थालनी गरिएको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बताउनुभयो ।

यस रोपवेबाट हिक्लुङ थुम्काबासीहरुको आवश्यकता तथा व्यवसायीक तरकारी उत्पादनको प्रबर्धनका लागि गाउँपालिकाबाट ४० लाखमा र प्रदेश सरकारकाबाट ५० लाख गरी कुल ९० लाख रुपैया विनियोजन भएको छ । सर्भे सकिएर स्वीकृत गरी यसै आर्थिक वर्षबाट रोपवे सञ्चालनमा ल्याउने तयारी गरिएको तिमिल्सिनाले जानकारी दिनुभयो ।