सरकारी कार्यालयमा सेयर कारोबार गर्नेलाई कारवाही गरिने

मङ्लबार, भदौ २५, २०८१

काठमाडौं । सरकारले सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ चलाउने नमिल्ने व्यवस्था गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, कार्यालय,सचिवालय र स्थानीय तहका कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र कार्यलय समसयमा कर्मचारीले टीएमएस चलाउँदा सेवाग्राहीको काममा प्रभावित भएको भन्दै प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेपछि आजबाट बन्द गर्न निर्देशन गएको हो।

जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस)प्रतिबन्ध लगाएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य भएको प्रधानमन्त्री ओलीको भनाई छ।

सामाजिक सञ्जालमार्फत ओलीले सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न निर्देशन दिएका छन्।
‘सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ ।’ उनले भनेका छन्, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु।’