रुइला नाकामा पाँच करोड कारोवार, एक वर्षका लागि नाका बन्द

बिहिबार, भदौ २७, २०८१

राजेन्द्र न्याैपाने

२७ भदौ, गोरखा । साउन ५ गतेदेखि खुल्ला गरिएको रुइला नाका अर्को एकबर्षसम्मका लागि बन्द भएको छ । २० दिन खुलेको नाकामा ५ करोड बराबरको कारोवार भएको चुमनुब्री गाउँपालिका वडा नम्बर १ का अध्यक्ष कर्मा छेवाङ लामाले बताउनुभयो । बर्षमा एकपटक एक महिनाका लागि खुल्ला गरिने सो नाका बन्द भएको शसस्त्र प्रहरी बल साम्दोले जानकारी दिएको छ ।
चिनियाँ र नेपाली सीमा सुरक्षा बलले सँयुक्त रुपमा गस्ती गरेर एक कार्यक्रम गरी नाका बन्द भएको घोषणा गरेका थिए ।
सुरक्षाका कारण लामो समय नाका खोल्न नसकिएको चिनियाँ पक्षले जनाएको थियो । चार वर्ष पछि एक महिनाका लागि खुलेको नाका बन्द भएको हो । एक महिनामा चिनियाँ पक्षले नेपालीहरुका लागि बोर्डरमा ल्याएर अस्थाइ बजार स्थापना गरेर समान विक्री गरेको थियो ।

पछिल्लो साल नाका खुल्नु भन्दा एक महिना अघि नेपाली पक्षलाई जानकारी गराईने डिपार्टमेन्ट अफ चाइना केरुङ जिल्लाका प्रहरी अधिकारी टासी वाङ्दाले बताउनुभयो । बोर्डरबाट पाँचकिलो मिटर चिन तर्फ रहेको लगाम बजारमा दुई देशका प्रहरीको सँयुक्त बैठक बसेको थियो ।

नेपालका तर्फबाट सशस्त्र प्रहरीका सिमा सुरक्षा बलका प्रहरी निरीक्षक विश्वराज त्रिपाठी, चुमनुब्री गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भदौ ५ गतेदेखि २४ गते सम्म खुला रहेको नाकामा नेपाल पक्षले घ्यू, करु, लत्ताकपडा, चिया लगायतका सामग्री खरिद गरेका थिए । छेकम्पार तर्फको नुइला नाका भने सेप्टेम्बर २० सम्म खुला रहने वडा नम्बर ७ का वडा अध्यक्ष टासी दोर्जे लामाले बताउनुभयो ।