राजेन्द्र न्यौपाने २४ असोज, गोरखा । गोरखामा किवि फलको व्यावसायिक उत्पादन सुरु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिकामा किवि फल खेती सुरु भएको हो ।
विरुवा रोपेको तिन वर्षदेखि फल दिन सुरु गरेको र यस वर्ष फल धेरै लागेको सिरानचोक गाउँपालिका वडा नम्बर २ थालाजुङकी किसान आसमाया गुरुङले बताउनुभयो ।
अघिल्लो वर्ष ३५ किलोग्राम फल टिपेकी थिएँ, नयाँ फल गाउँलेहरुलाई वितरण गरेँ । यसपटक राम्रै फल लागेकाले आम्दानी गर्ने लक्ष्य लिएको गुरुङको भनाई छ ।
विरुवा ल्याएर रोपेर मात्रै फल लाग्ने होइन रहेछ, यसलाई गोडमेल, मलजल, थाँक्राको व्यावस्थापन गर्दा लगानी बढेको आसमायाको भनाई छ ।
यसपालादेखि आम्दानी लिने योजना रहेको छ । फल पाकेपछि प्रतिकेजी दुईसय पचास रुपैयाँमा विक्री गर्ने गुरुङले बताउनुभयो ।
बजार बजारको अभाव छैन । चार रोपनी क्षेत्रफलमा लगाएको किवि फल्न थालेपछि आफूलाई खुशि लागेको उहाँले बताउनुभयो । गाउँमा अरुले पनि किवि लगाउनुभएको छ । चिसो हावापानीमा हुने भएकाले यस क्ष्ोत्रका किसानहरुले व्यावसायिक खेतीको सुरुवात गर्नुभएको छ । धेरै जनाले लगाउँदा खरिद गर्न आउनेहरुले भनेजति लैजान पाउने भएकाले खेती आफूहरुले समेत प्रोत्साहन गरेको सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताउनुभयो ।