धन बहादुर तामाङ २४ असोज, गोरखा । गोरखा दरबार स्थित दशैँघरमा आज फूलपाती भित्र्याइएको छ । कालिका मन्दिर परिसरमा रहेको दशैँघरमा फूलपाती भित्र्याएसँगै काठमाडौँको हनुमान ढोकामा आज फूलपाती पठाइएको छ ।
सडक मार्ग नखुल्दा गोरखाबाट धादिङको जीवनपुर हुँदै पैदल मार्गबाट फूलपाती काठमाडौँ पठाउने चलन रहिआएको थियो । सडक सञ्जाल विस्तार भएसँगै सवारी मार्फत फुलापाती काठमाडौँ पठाउने गरिएको हो ।
आज विहान बा २ झ २११८ नम्बर को सरकारी सवारी मार्फत फूलपाती काठमाडौँ पठाइएको गोरखा दरबारका मुल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिनुभयो । दरबारका मगर थरका सुसारे र पुजारीहरुले गोरखा नगपालिका आले गाउँ, रिप, सतिपिपल क्षेत्रमा पाइने फूल, पाती, बेलपत्र, केरा, हलेदो, धान, अशोक, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखु लगायतका लहरापात र फूलपाती सतिपिपल स्थित डाँडामा राखेर बाजागाजा सहित मन्दिरमा लगेर पुजा गर्ने र त्यसपछि काठमाण्डौका लागि पठाउने गरिन्छ ।
गोरखाबाट पठाएको फुलपाती काठमाण्डौको हनुमान ढोका पुर्याएपछि दशैँ सुरु भएको मान्ने चलन रहि आएको छ ।
पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजयी गरेसँगै गोरखाको फूलपाती काठमाडौँ हनुमान ढोकामा भित्राउने प्रचलनको सुरुवात भएको अभिलेख रहेको छ ।
फूलपाती काठमाण्डौ पठाउने क्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगातयका जिल्ला स्थित प्रमुखहरुको सहभागिता रहेको थियो ।