गोरखा । गोरखा नगरपालिका गोरखाको १५औँ नगरसभाको हिउँदे अधिवेशन आज सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा भएको अधिवेशन आर्थिक बर्ष २०७९/०८० को बेरुजु नियमित गर्ने सम्बन्धमा लेखा समितिले पेश गरेको सुुझावसहितको प्रतिवेदन सर्वसम्मत पारित गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयाे ।
सभामा लेखा समितिका संयोजक शितलकाजी मास्केले चालु आर्थिक बर्ष २०८१/०८२ को हालसम्म र गत आर्थिक बर्षको महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेका बेरुजु नियमित गर्नका लागि नगरसभामा निर्णय पेश गर्नु भएकाे थियाे ।
लेखा समितिले विभिन्न १४ वटा शिर्षकमा गतआर्थिक वर्षमा महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु नियमित गर्नुपर्ने आधारसहित नियमिताका लागि अनुरोध गर्ने निर्णय पारित गरेको बताइएकाे छ ।
नगरसभामा सहभागी नगरसभाका सदस्यहरुले नगरपालिकामा देखिएको बेरुजु घटाउनका लागि जनप्रतिनिधि र कर्मचारी दुवै पक्ष जिम्मेवारी हुनुपर्ने धारणा राखे । नगरसभा सदस्य रामबहादुर खड्काले लेखासमितिले दिएको सुझावलाई पूर्णरुपमा कार्यान्वयन गरेर जानसके बेरुजु घटाउन सकिने बताउनुभयाे ।
अनुत्पादक क्षेत्रमा देखिएका खर्च घटाउनुपर्ने तथा योजनाको भुक्तानी गर्दा आवश्यक काजजातमा पुरा गरेर मात्र भुक्तानी गर्न कर्मचारी जिम्मेवार बन्नुपर्नेमा भनाइ राख्नुभयाे ।
नगरसभा सदस्य चुलबहादुर कुँवरले स्थानीय सरकारले जनताका समस्यालाई नजिकबाट सम्बोधन गर्नुपर्ने भएकाले नगरपालिकाले सवै जनप्रतिनिधिसंग बेलाबेलामा सुझाव लिएर काम गर्नुपर्ने सुझाव दिनुभयाे ।
नगरसभाका अर्का सदस्य दिलबहादुर थापाले लेखा समितिले दिएको सुझावलाई गम्भीरता पूर्वक मनन गर्नुपर्ने बताउनुभयाे । अहिलेकै दरमा बर्षेनी ३.५ प्रतिशका दरले बेरुजु बढ्दै जाने हो भने नगरपालिकामा थप समस्या सिर्जना हुने धारणा राख्नुभयाे ।
नगरसभामा बोल्दै नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले नगरसभाले गरेका प्रतिवद्धता र निर्णय पूर्णरुपमा कार्यान्वयनका लागि जनप्रतिनिधि र कर्मचारी सवै मिलेर काम गर्नुपर्ने बताउनुभयाे ।
विकाससंगै आर्थिक सुशासन कायम गर्ने जिम्मा सवै जनप्रतिनिधिको भएको भन्दै उनले गोरखा नगरपालिकाको अधिकाँश बेरुजु विल भरपाई नमिलेको र प्रक्रिया नपुगेका कारण देखिएको बताउनुभयाे ।
उपप्रमुख थोकरले बेरुजुको बिषयलाई लिएर जनप्रतिनिधिको बदनाम हुने गरी गलत व्याख्या हुने गरेकोभन्दै जनताको पक्षमा काम गर्दा नमिलेका कतिपय योजनालाई संम्परीक्षण गरेर बेरुजु घटाउने गरी काम गरिरहेको धारणा राखनुभयाे ।
नगरसभामा नगरप्रमुख कृष्णबहादुर रानामगरले चालु आर्थिक बर्षमा सम्झौता भइसकेका विकास निर्माणका योजना समयमा नै सम्पन्न गर्न र सम्झौता गर्न बाँकी रहेका योजनाहरु तत्काल सम्झौता गरी काम अघि बढाउन नगरसभाका सदस्यहरुलाई निर्देशन दिनुभयाे ।
गाेरखा नगरपालिकामा विगत दुइ वर्षदेखि समस्याहरुकाे चाङ रहेकाे मात्रै छैन यहाँका जनप्रतिनिधिहरुले वाचा गरेर अनुसारका फाइलहरु सदर गर्दै जाने हाे भने कर्मचारीहरु फस्ने भय उत्तिकै रहेका कानुन अनुसार काम गर्नुपर्ने सराेकारवालाहरुले सुझाव दिँदै आएका छन् ।
जनप्रतिनिधिहरुले आफू अनुकुल भन्दा पनि राज्यकाे नीति अनुसार याेजना छनाैट र काम सम्पन्न पछि पछाैट गर्नुपर्ने नीति रहँदै आएकाे छ ।