गोरखा । गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ट्रेकिङ एजेन्जीस् एशोसिएशन अफ नेपाल टान गण्डकीको आयोजनामा गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो ।
टान गण्डकीको आयोजनामा गोरखा नगरपालिका – ५ पस्लाङगाउँ होमस्टेमा घरवास तथा ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम गर्दै ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो ।
सन् १९५६ मे ९ तारिखका दिन जापानका पर्ततारोही तोसिओ इमानिसी र नेपालका पर्वतारोही ग्लाल्जेन नोर्वु र्शर्पाले पहिलो पटक मनास्लु हिमाल आरोहण गरेका थिए ।
आरोहण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर रानाले गोरखामा इतिहास पढ्न नभएर हेर्नका लागि पर्यटक आउने गरेको बताउनुुभयो ।
‘‘पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका तीन पालिका, पोखरा महानगरपालिका, गोरखा नगरपालिका र बन्दिपुर नगरपालिकाले सन् २०२५ लाई पर्यटन भ्रमण वर्षका रुपमा अगाडि बढाएका छन्’, प्रमुख लामिछानेले भन्नुभयो, ‘पर्यटन भ्रमण वर्षले ग्रामिण पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्छ ।’ उहाँले मनास्लु हिमाल आरोहणको ७० औ वर्ष भब्य रुपमा मनाउन जापानीज राजदुतावाससँग छलफल गरिरहेको बताउनुुभयो ।
‘जापनीज नागरिकले मनास्लु हिमाललाई जापान हिमालको रुपमा मान्छन् त्यसैले ७० औ मनास्लु हिमाल आरोहण दिवस सामागाउँ नै गएर जापानीज राजदुतावासको उपस्थितिमा मनाउने गरी छलफललाई अगाडि बढाएको छु ।’ उहाँले भन्नुभयो । संसारको ८ हजार मिटरको अग्लो उचाईमा रहेको मनास्लु हिमाल संसारको आठौं र नेपालको सातौं अग्लो हिमाल हो ।
जिल्ला सदरमुकाममा भएको कार्यक्रममा ‘ग्रामिण पर्यटन प्रवद्र्धन’ सम्बन्धी अन्तरक्रिया भएको हो । टानका पदाधिकारी र गोरखा नगरपालिकाबीच समग्र जिल्लाको ग्रामिण पर्यटनको अवस्था र त्यसको विकासको विषयमा छलफल भएको थियाे ।
गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँमा पनि विविध कार्यक्रम गरी दिवस मनाइएको छ । कार्यक्रमको अवसरमा सामागाउँका तीन आरोहीहरुलाई सम्मान गरिएको छ । मनासलु हिमाल आरोहण गर्ने सामागाउँमा मिङमार लामा, डिकी ल्हामु लामा र नाङसल छोटेन लामा सम्मानित भएका हुन् । दिवसको अवसरमा महिलाहरूबीच मेज घुमाइ, तथा महिला र पुरुष दुबैबीच घैटो फुटाइ प्रतियोगिता भएको मनासलु संरक्षण क्षेत्र एमक्यापले जनाएको छ ।