५ जेठ, गोरखा । गोरखा जिल्लाको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा वेरुजुदर बढ्ने क्रममा रहेको छ । दुई नगरपालिका र ९ वटा गाउँपालिका गरेर ११ स्थानीय तह रहेको गोरखा जिल्लामा आर्थिक वर्ष ०७८।०७९ मा कुल वेरुजु रकम २२ करोड २० लाख ७८ हजार रहेको थियो । आर्थिक वर्ष ०७९।०८० मा २३ करोड १७ लाख र आर्थिक वर्ष ०८०।०८१ मा २३ करोड ४ लाख ६८ हजार रहेको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ । केही पालिकाहरुले वेरुजु घटाएका छन् भने केही पालिकाको बढेको देखिएको छ । धार्चे, चुमनुब्री, गोरखा नगरपालिका भिमसेन थापा गाउँपालिकाको वेरुजु घट्दा बारपाक सुलिकोट, सहिदलखन, गण्डकी गाउँपालिका, सिरानचोक गाउँपालिका, पालुङटार नगरपालिकाको बढेको छ । बेरुजु कममा चुमनुब्री गाउँपालिका गोरखामा पहिलो स्थानमा रहेको छ ।
वेरुजु रकम किन बढ्यो पालिकामा अनियमितता भएको हो वा होइन भनि केही पालिकाहरुको नीति तथा कार्यक्रमको अध्ययन र त्यसको व्यवहारीक कार्यन्वयन र महालेखा परीक्षकको प्रतिवेदन अध्ययन गर्दा निम्न लिखित विवरणहरु फेला परेका छन् । शहिदलखन गाउँपालिका भित्रका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक अभाव पूर्ती गर्न गाउँपालिकाले ३५ जना स्वयँसेवक शिक्षक नियुक्त गर्यो । उनीहरुलाई काममा लगाएपछि केही इन्सेन्टिभ दिनुपर्ने भएपछि स्वयँसेवकलाई दिएको रकमलाई सैद्धान्तिक वेरुजुमा महालेखाले राखेको छ ।
बारपाकसुलिकोट गाउँपालिका भित्र रहेको दुर्गम भूगोलमा नागरिकहरुको स्वास्थ्य सेवाका स्वास्थ्य इकाइ स्थापना त्यसमा कर्मचारी व्यवस्थापन, आधारभूत स्वास्थ्य उपकरण तथा औषधी व्यवस्थापन गर्दा वेरुजु देखिएको छ । पढाएन राखिएका अनुदानका शिक्षकहरुलाई दिएको पारीश्रमिक वेरुजु देखाइएको छ ।
वडामा सबै काम कम्प्युटर प्रविधिबाट गर्न सरकारले निर्देशन गरेको र कम्प्युटर चलाउने जनशक्ति व्यवस्थापन गर्दा महालेखाले वेरुजु औँल्याएको छ ।
पालुङटार नगपालिकामा नमुना विद्यालयको साविकको वेरुजु कायमै थियो । अघिल्लो वर्ष ढूङ्गा गिटीमा जिल्ला दररेट भन्दा कममा निर्माण व्यावसायीलाई पालिकाले सहुलियत दिँदा महालेखाले बढीमा रकम नलिएको भन्दै सैद्धान्तिक वेरुजु देखाएको छ ।
धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका र गोरखा नगरपालिकाले वेरुजु रकम घटाएका छन् । अघिल्लो वर्ष ८ करोड २२ लाख वेरुजु रहेको धार्चे गाउँपालिकाले वेरुजु रकम ५२ लाख २६ हजारमा झारेको छ । ३ करोड ५९ लाख वेरुजु रहेको गोरखा नगरपालिकामा अहिले १ करोड ९३ लाख सैद्धान्तिक वेरुजु देखिएको छ । चुमनुब्री गाउँपालिकाको वेरुजु ३ लाख ४२ हजार निर्माणको क्रममा व्यावसायीबाट भुक्तानी गर्नुपर्ने देखिएकाले चुमनुब्रीको वेरुजु यस वर्ष शुन्य हुने देखिएको छ । अधिकाँश पालिकाहरुको वेरुजु पालिका, वडामा स्वास्थ्य र शिक्षामा देखिएको पालिकाहरुले जानकारी दिएका छन् । नागरिकहरुको सेवामा लगानी गर्दा महालेखाले वेरुजु औल्याएको कतिपय पालिकाहरुले गुनासो गरेका छन् ।
स्थानीय तहले आफूले पाएकाे अधिकार प्रयाेग गरेर काम गर्दा वेरुजु आएकाे पालिका अध्यक्षहरुकाे भनाइ छ ।