काठमाडाैं- बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले समुदायले निरन्तर सुरक्षित पानी पिउनुपर्ने र यसलाई व्यवहारमा लागू गर्नु पर्नेमा जोड दिएका छन्। गाउँपालिका अध्यक्षले पांग्रे र ज्यामिरे सुरक्षित खानेपानीयुक्त समुदाय बनेकोमा खुसी व्यक्त गर्दै, वडा नं. २ लाई पूर्ण रूपमा सुरक्षित खानेपानीयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।
सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम यूनिसेफ नेपालको आर्थिक सहयोगमा, सहरी वातावरण व्यवस्थापन समाज यूम्स्ले द्वारा सञ्चालन गरिएको ‘ह्युमानिटेरियन वास इन्टरभेन्सन’ परियोजना अन्तर्गत सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रतिनिधि भद्र शर्मा, यूनिसेफ नेपालका खानेपानी तथा सरसफाइ प्रमुख मुहम्मद इरफान सईद अलराई, नेपाल खानेपानी तथा सरसफाइ विशेषज्ञ अरनिता मास्के, बागमती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समीर श्रेष्ठ, माल्टा वडा नं. २ स्वास्थ्य चौकी र प्रहरी चौकीका प्रतिनिधि, साथै पांग्रे र ज्यामिरे समुदायका प्रत्येक घरबाट एक जना प्रतिनिधि उपस्थित थिए।
कार्यक्रममा करिब १०० जना विद्यार्थी, शिक्षक/शिक्षिका, खानेपानी उपभोक्ता समिति सदस्य र स्थानीय समुदाय सहभागी थिए।
यूनिसेफ नेपालका खानेपानी तथा सरसफाइ प्रमुखले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भएकोमा खुसी व्यक्त गर्दै भर्खरै अनुमोदन भएको ‘सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा निर्देशिका’ सम्बन्धमा जानकारी दिए।
यूम्स्का कार्यकारी निर्देशक हेरिना जोशीले समुदायलाई सुरक्षित खानेपानीयुक्त बनाएर कायम राख्नुपर्ने र यसको दिगोपनका लागि ध्यान दिनुपर्नेमा जोड दिइन्। यस्तै, यूम्स्का खानेपानी तथा सरसफाइ विज्ञ गुह्येश्वरी तुलाधरले परियोजनाको विस्तृत जानकारी र सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाको प्रक्रिया स्पष्ट पारे।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि भद्र शर्माले दुई समुदाय सुरक्षित खानेपानीयुक्त घोषित भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा जनस्वास्थ्य कार्यालयको सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गरे।