Breaking News

आरुघाट गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड भवानी मावि मान्बुले जित्याे

By मनासलु

November 17, 2025

१ मँसिर, गोरखा । आरुघाट गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड भवानी मावि मान्बुले जितेको छ । पालिकाको शिक्षा शाखाको आयोजनामा भीमोदय माविको खेलमैदानमा यही बुधबार, विहीबार र शुक्रबार सञ्चालित प्रतियोगिता भवानी माविले जितेको हो । विभिन्न विधामा भएको खेलमा ८ स्वर्ण, ७ रजत र २ कास्य पदक जित्दै भवानी माविले शिल्ड हात पारेको हो । विजेता भवानी माविले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा नेप्लिज एड्भान्स बोर्डिङ स्कूल आरुघाटले दोस्रो स्थान हाँसिल गरेको छ । नेप्लिज एड्भान्सले ६ स्वर्ण, १ रजत पदक जितेर दोस्रो हुन सफल भएको हो । त्यस्तै भीमोदय मावि आरुघाटले तेस्रो स्थान हात पारेको छ । ४ स्वर्ण, ७ रजत र ४ कास्य पदक जितेर भीमोदय मावि तेस्रो बनेको हो । आरुपोखरीस्थित दरबार माविले सान्त्वना स्थान हासिल गरेको छ । ४ स्वर्णसहित ४ रजत र ५ कास्य जितेर दरबार माविले सान्त्वना स्थान पक्का गरेको हो ।

प्रतियोगितामा पालिका भित्रका १७ वटा माध्यमिक तहका विद्यालयहरुले सहभागिता जनाएका भीमोदय माविका प्रधानाध्यापक मनप्रसाद बञ्जराले जानकारी दिनुभयो ।

पदक प्राप्त गर्ने विद्यालयहरुलाई बिहिबार एक कार्यक्रमका बीच पुरस्कार तथा पदक वितरण गरिएको छ । जिल्लाको बारपाक सुलिकोट, सिरानचोक, भिमसेन थापा गाउँपालिकामा प्रतियोगिता सञ्चालन भइरहेको छ । शहिदलखन गाउँपालिकामा आजबाट प्रतियोगिता हुने भएको छ ।