Breaking News

बारपाक सुलिकोटमा १५ शैयाको अस्पताल सञ्चालन तयारी, दुर्गम बस्तीमै स्वास्थ्य सेवा पहुँचको आशा

By मनासलु

November 27, 2025

राजेन्द्र न्यौपाने ११ मंसिर, गोरखा । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा १५ शैया क्षमताको अस्पताल सञ्चालनको तयारी तिव्र गतिमा अघि बढेको छ । गाउँपालिकाले दीर्घकालीन स्वास्थ्य सेवालाई व्यवस्थित र व्यापक बनाउन लक्ष्यसहित अस्पतालको पूर्वाधार निर्माण पूरा गरी अब जनशक्ति व्यवस्थापनमा केन्द्रित भएको जनाएको छ । गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराउन निक साइमन इन्स्टिच्युटसँग सहकार्य गर्ने समझदारी भएको छ । इन्स्टिच्युटले एकजना एम.डी.जी.पी विशेषज्ञ चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिवद्धता जनाइसकेको भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार, जनशक्ति व्यवस्थित भएसँगै अस्पताल औपचारिक रूपमा सेवा दिन तयार हुनेछ । बारपाक सुलिकोट–४ स्थित हुँडिफाँटमा निर्माण भएको यो अस्पताल सञ्चालनमा आएपछि सौरपानी, स्वाँरा, ताकुकोट, पाँचखुवादेउराली लगायतका टाढा–टाढाका बस्तीबाट आएका नागरिकलाई नजिकैबाट नै सुलभ र छिटो स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ । यसअघि उक्त क्षेत्रमा केवल स्वास्थ्य चौकीमार्फत सामान्य सेवा मात्र उपलब्ध थियो । बस्तीका नागरिकलाई सामान्य उपचारका लागि पनि ठूलो खर्च बेहोरी गोरखा बजार वा अरु नजिकका सहर आउनुपर्ने बाध्यता थियो । विशेषगरी आकस्मिक अवस्थामा सवारी पर्खनु, लामो दूरी यात्रा गर्नु र महँगो खर्च गर्नु परेकाले धेरै बिरामी जोखिममा पर्नुपर्ने अवस्था देखिँदै आएको स्थानीयको भनाइ छ । गोरखा जिल्लाका शहीदलखन, भिमसेन थापा, गण्डकी, गोरखा नगरपालिका, पालुङटार, धार्चे, अजिरकोट, सिरानचोक र आरुघाट गाउँपालिकामा यसअघि नै अस्पताल सञ्चालनमा आइसकेका छन् । यस्तै चुमनुब्री गाउँपालिकामा अस्पताल निर्माणका लागि जग्गा खोजीको प्रक्रिया जारी रहेको गाउँपालिकाले जनाएको छ । स्थानीय तहमै अस्पतालको सञ्जाल विस्तार भइरहनु प्रदेशको दूरदराज क्षेत्रका नागरिकका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ । स्वास्थ्य सेवा पहुँचसँगै गर्भवती महिला, दीर्घरोगी, बालबालिका र वृद्ध नागरिकले जीवनरक्षक सेवामै सहजता पाउने अपेक्षा गरिएको छ ।

अस्पताल सञ्चालित हुने खबरसँगै स्थानीयवासी उत्साहित देखिएका छन् । “समयमै उपचार नपाएर धेरै जोखिम भइरहन्थ्यो । अब गाउँमै सेवा पाउने भएपछि समयमा उपचार हुने र खर्च पनि धेरै घट्ने छ,” स्थानीयवासीको भनाइ छ । गाउँपालिका अध्यक्ष भट्टका अनुसार, अस्पतालले सेवा दिन थालेपछि प्राथमिक स्वास्थ्यसेवाबाट लिएर प्रसूति, आकस्मिक उपचार र सामान्य रोगको व्यवस्थापन सहज र व्यवस्थित हुनेछ । “हामी नागरिकलाई गाउँमै गुणस्तरीय सेवा दिने दिशामा अघि बढिरहेका छौँ,” उहाँले भन्नुभयो ।